रासस
फागुन २१ । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरसको प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिका संग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक यस फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील भएको उल्लेख ती संस्थाले जनाएका छन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत समावेश गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर प्रयत्नमा जुट्नु सबैको कर्तव्य भएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन)ले सार्वजनिक आह्वान गरेका हुन। सदस्य विद्यालयलाई यस सङ्क्रमणप्रति सजग र सचेत रही आफ्ना विद्यालयका कार्यक्रमसमेत अत्यन्तै सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै अभिवादन गर्दा हात नमिलाऔँ र नमस्कार आदान–प्रदान गर्ने गरौँ भनी आह्वान पनि गरिएको छ ।