माघ २७ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन बनिरहेको बताउनुभएको छ । आज बिहीवार शिक्षा पत्रकार नेपाल इजोनले काठमाण्डौमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताउनुभएको हो । उहाँले ऐनमा व्यवस्था नभइ सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो भएको उल्लेख गर्दै प्रदेश सरकारले त्यो अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयअनुसार नतिजा प्रकाशन गर्न सक्ने पनि बताउनुभयो । प्रदेश सरकारले परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिका जिल्लामा पठाउने, केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेशन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्नेछ । अध्यक्ष शर्माले यस पटकको एसईईमा दुई हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताउनुभयो । बोर्डले झन्डै पाँच लाख विद्यार्थी यस पटकको एसईईमा उपस्थित हुन सक्ने अनुमान गरेको उल्लेख गर्दै कक्षा १२ को परीक्षाको समय तालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको जानकारी दिनुभयो ।