बैशाख ५ । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको समाचार संस्था ए.एन.आईले जनाएको छ । त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरू पनि तीव्र रूपमा हुने र समस्या तथा असन्तुष्टिहरूको सम्बोधन हुने आशा गरिएको राजापाक्षले बताउनुभएको छ । नवनियुक्त सबै मन्त्रीहरूलाई सोमवार राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गर्नुभएको हो । यसअघि अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यले सामूहिक राजीनामा दिएका थिए । देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि नागरिक आन्दोलित भएकाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ ।