Devdaha Tv | शिक्षा / प्रविधि
आश्विन १८ | 2022 Oct 04
Flash News

गुल्मी बाट ४ हजार ८ सय २३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

5 months ago
गुल्मी-बाट-४-हजार-८-सय-२३-जना-विद्यार्थी-एसईई-परीक्षामा-सहभागी-हुँदै

बैशाख ८ । गोकर्ण पाण्डे । गुल्मी । गुल्मी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा एसईईमा ४ हजार ८ सय २३ जना विद्यार्थी सहभागी हुने भएका छन् । बैशाख ९ गते शुक्रबारदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १ सय ४० वटा विद्यालयका ४ हजार ८ सय २३ विद्यार्थी सहभागी हुने भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाई गुल्मीका एकाई प्रमुख लोकनाथ मरासिनीले नियमित तर्फ ४ हजार ४ सय ९२ र प्राविधिक नियमित तर्फ २ सय ८७ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयो ।
त्यस्तै, खुला नियमित तर्फ २१ जना र आंशिक तथा ग्रेडवृद्धि समूहतर्फ २३ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा अहिले १६ वटा विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा रहेको छ । यस वर्षको एसईईमा जिल्लामा एउटा नयाँ विद्यालय थप भएको छ । जसमा गुल्मीदरबार गाउँपालिका चारपालाको ठूलापोखरा माध्यमिक विद्यालय रहेको इकाइ प्रमुख मरासिनीले जानकारी दिनुभयो । उक्त विद्यालयबाट १४ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।
जिल्लामा अहिले ७५ प्रतिशत हाजिरी नपुगेका तथा आवेदन फाराम भरेका तर राजस्व नबुझाएका १५ जना विद्यार्थी परिक्षा दिन अयोग्य रहेका प्राविधिक सहायक अमृत पौडेलले जानकारी दिनुभयो । एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिक सहायक पौडेलका अनुसार जुन विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक स्वतः त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको जानकारी दिनुभयो । उहाँले अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुगिसकेको र प्रश्नपत्र पनि सम्बन्धित परीक्षा केन्द्र भएको नजिकैको प्रहरी चौकीमा पुयाइएको जानकारी दिनुभयो ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला परीक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परिक्षाका लागि आवश्यक व्यवस्थापन गरेको बताइएको छ । परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली तयार गरिएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।