बैशाख १५ । गोकर्ण पाण्डे । गुल्मीका केही स्थानिय तहमा पुरानै अनुहारले दास्रो कार्यकालको लागी उम्मेदवारी दिएका छन् । दुई नगरपालिका र १० गाउँपालिका गरि १२ वटा स्थनीय तह रहेको गुल्मीमा ८ वटा स्थानिय तहका केहि प्रमुख र उप–प्रमुख पालिकामा दोहोरीन जनप्रतिनिधिबाट राजीनामा दिएर पुनः मनोनयन दर्ता गराएका छन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा (नेकपा) एमालेबाट निर्वाचित भएका मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, चन्द्रकोट गाउँपालिका उपाध्यक्ष राधिका अर्याल सोहि पदमा पुनः दोहोरीने गरि उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसबाट निर्वाचित सत्यवत्ति गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा र उपाध्यक्ष पदमा जनमोर्चाबाट निर्वाचित तारा थापाले पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट निर्वाचित धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले पुन ः माओवादी केन्द्रबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।
त्यस्तै जिल्ला समन्वय समिति गुल्मी सदस्य पदमा रहेका चेतन बस्नेतले चन्द्रकोट गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको छ । जनताबाट पहिलो कार्यकालमा आफूहरु निर्वाचित भएपनी जनताहरुको माग र आवश्यकता अनुसार काम र बाकीँ रहेका क्रमगत योजनालाई सम्पन्न गर्न पुनः आफूहरुले उम्मेदवारी दिएको उहाँहरु बताउँनुहुन्छ । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी गुल्मीका राष्ट्रिय मान्यता प्राप्त ठुला ५ दल र मान्यता प्राप्त नभएका ११ दल गरी कुल १६ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । जिल्लाका केहि पालिकामा स्वतन्त्रबाट मनोनयन दर्ता समेत गराएका छन् । सत्यवत्ती गाउँपालिकामा स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कालिगण्डकी गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र अध्यक्षमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराउनु भएको छ । मदाने गाउँपालिकामा स्वतन्त्रबट गाउँपालिका अध्यक्षमा दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराउनु भएको छ । मुसिकोट नगरपालिकामा नगरप्रमुखमा स्वतन्त्रबाट बिपिन रायमाझीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । जिल्लामा बैशाख ११ र १२ गते राजनितिक दलले मनोनयन दर्ता गराएसंगै गाउँ देखी शहर चुनावमय बन्न थालेका छन् । राजनितिक दलका उम्मेदवार घरदैलो कार्यक्रममा ब्यस्त छन् ।