Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १५ | 2022 May 29
Flash News

सुन्दर र बिकसित देवदह निर्माणका लागि नेकपा एमालेको बिजय आवश्यक छ : ध्रुवप्रसाद खरेल

2 weeks ago
सुन्दर-र-बिकसित-देवदह-निर्माणका-लागि-नेकपा-एमालेको-बिजय-आवश्यक-छ-:-ध्रुवप्रसाद-खरेल

बैशाख २६ । देवदह नगरपालिकामा नेकपा एमाले मेयर पदका उम्मेदवार ध्रुवप्रसाद खरेलले सुन्दर देवदह र बिकसित देवदह निर्माणका लागि नेकपा एमालेका उम्मेदवारहरुको बिजय आवश्यक रहेको बताउनु भएको छ । उहाँले शुसासन र समृद्धि समाजवादको आधार देवदहमा नेकपा एमालेको सरकार भन्ने उद्देश्यका साथ अगाडी बढेको एमालेको जितबाट मात्रै देवदहको समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले निर्वाचनको क्रममा मतदाता संग राखेका प्रतिवद्धतालाई कार्यान्वयन गर्न कुनै कन्जुस्याई नगर्ने बताउनुभयो । एमाले संग मात्रै देश बिकासको स्पष्ट दृष्टीकोण छ सोही अनुसार देवदहको समृद्धिको योजना लिएर हामी निर्वाचनमा होमीएका छौं त्यो योजना सफल बनाउन पनि एमालेको जित आबश्यक रहेको खरेलले भन्नुभयो । निर्वाचन परिचालन कमिटी देवदहले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले देवदहमा लामो समयदेखि समस्याको रुपमा रहेको भुमिहिन, अब्यवस्थीत बासोवास र लालपुर्जा बिहिनहरुको समस्या समाधान गर्ने काममा योजनाबद्ध ढंगले लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खरेलले नगरभित्रका बालबालिकाहरुलाई बिद्यालयको पहुंँचमा पुर्याउने, आगामी ५ बर्ष भित्र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार आवश्यक पुर्वाधारहरु तयार गर्ने योजना रहेको पत्रकार सम्मेलनमा प्रष्ट पार्नुभयो । उहाँले देवदह आदर्श बहुमुखी क्याम्पसको भौतिक स्तर बृद्धी गरी अनुुसन्धान केन्द्रको रुपमा बिकास गर्ने, एक बिद्यालय एक स्वास्थ्यकर्मी र एक शिक्षक एक ल्यापटपको ब्यवस्था मिलाउने कार्यक्रम अगाडी सार्दै एमालेले नगरको समग्र बजेटको २० प्रतिशत शिक्षामा लगाउने योजना बनाएको बताउनुभयो । 

त्यसैगरी प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहन गरी कृषि उत्पादनमा जोड दिने बिशेषताका आधारमा कृषि तथा पशुपन्छी पकेट जोन, माटोको परिक्षण गरी माटो अनुकुलको उत्पादनलाई प्रोत्साहन कार्यक्रम सन्चालन गर्ने कृर्षिको यान्त्रीकरण र कृषि उपजको बजारीकरण गर्ने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ । सडक तथा पुर्वाधारहरुको निर्माण र देवदह (चक्रपथ) निर्माणका लागि सम्भाब्यता अध्यायन र त्यसको कार्यान्वयन गर्ने खरेलले पत्रकार सम्मेलनमा बताउनुभयो । उच्च शिक्षामा नजोडिएका युवाहरुलाई रुचिका अधारमा प्राविधिक शिक्षाको प्रवन्ध र बैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि शिपमुलक तालिम र लघुउद्यम र उद्यमशिलतको बिकास गर्ने योजना एमालेको रहेको उल्लेख गर्नुभयो । खरेलले स्थानीय भाषा संस्कृतीको संरक्षण गरी मौलीक संस्कृतीको प्रवद्र्धन स्थानीय मेला पर्व र जात्रालाई बिशेष महत्व दिई देवदह प्रज्ञा प्रतिष्ठानलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो । खरेलले देवदहलाई सुचनाको हक प्रत्याभुत हुने गरी नागरिकले सुचना पाउने र सन्चार माध्यमको बिकासका लागि आबश्यक कार्यक्रम तय गरिने जनाउनुभयो । निर्वाचन परिचालन कमिटीका संयोजक टिकाराम चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डा कृष्णप्रसाद न्यौपाने, एमाले जिल्ला कमिटी सदस्य तथा देवदह ईन्चार्ज यम राना लगायतले एमालेको जित शुनिश्चित भईसकेको बताउनुभएको थियो ।