Devdaha Tv | स्थानीय
आषाढ १४ | 2022 Jun 28

निर्वाचन आयोगद्धारा निर्वाचनमा लापरबाही गर्ने कर्मचारीहरुको विवरण माग

1 month ago
निर्वाचन-आयोगद्धारा-निर्वाचनमा-लापरबाही-गर्ने-कर्मचारीहरुको-विवरण-माग

जेष्ठ ४ । निर्वाचन आयोगले निर्वाचनमा लापरबाही गर्ने कर्मचारीहरुको विवरण माग गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै लापरबाही गर्ने कर्मचारीको विवरण माग गरेको हो । बैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदान अधिकृत र कर्मचारी हरुबाट स्थानीय तह निर्वाचन निर्देशिका २०७८ तथा स्थानीय तह निर्वाचन मतदान निर्देशिका २०७८ विपरीतका कार्य भएको पाईएपछि आयोगले आचारसंहिता विपरीतका कार्य गर्नेहरुको विवरण माग गरेको हो ।

आयोगले मतदान अधिकृत र कर्मचारीहरुले मतपत्रमा दस्तखत नगरी मतदातालाई दिने, अर्धकट्टीसहित मतपत्र दिने र दस्तखत नगराउने, स्टयाम्प प्याडको सट्टा अर्काे मसी उपलब्ध गराउने, मतपत्र र मतदाताको सहि विवरण तयार नपारेको, मतसङ्केत गर्दा धातुको छाप प्रयोग गर्न दिएको लगाएतका गम्भीर गल्तीहरु गरेको भेटिएको जनाएको छ । 

निर्वाचनमा खटिएका कर्मचारीबाट भएका यस्ता गल्तीले विवाद उत्पन्न भई निर्वाचन अवरुद्ध, स्थगित र मतगणना नै प्रभावित भएको भन्दै आयोगले आचारसंहिता विपरीतका कार्य गर्ने कर्मचारी र विवरण माग गरेको हो । आयोगले त्यस्ता कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी सङ्केत नम्बर, खटिएको निर्वाचन केन्द्रको नाम र ठेगाना सबै विवरण खुलाई पठाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।