जेष्ठ २५ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणको योजनालाई प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गर्दै सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
आज दिउँसो १ बजे बसेको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा राजधानी व्यवस्थापन र संरचना निर्माणको कामलाई गौरवको आयोजना घोषणा गर्नुभएको हो ।
लुम्बिनी प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ । प्रदेशको राजधानी व्यवस्थापन बाहेक लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, पाल्पाको रामपुरदेखि रोल्पाको पातेहल्ना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सडक, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाको रुपमा विकास गरी कार्यान्वयन गरिने प्रदेश प्रमुख शेरचनले जानकारी दिनुभयो ।
शेरचनले राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने राजधानी निर्माण गरिने जानकारी दिनुभयो । त्यसका लागि संघ र स्थानीय सरकारसँग मिलेर काम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । उहाँले प्रदेश सभाले निर्धारित गरेको राजधानीलाई समेटी नयाँ नगरपालिकाको रुपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने पनि जनाउनुभयो ।
त्यस्तैगरी कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चित प्रदेश, लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई गौरवको आयोजनामा राखेर नमुना आयोजनाका रुपमा निरन्तरता दिइने र यी दुई अस्पतालमा क्यान्सर तथा मुटु रोगको उपचार ग्यारेन्टी, ओपीडी र जनरल बेड निःशुल्क गरी बुटवलमा मेडिकल कलेज बनाइने, राजधानी क्षेत्र रहेको दाङको लालमटियामा ५० शय्याको अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । क्यान्सर तथा मुटुरोगीलाई दुई लाख दिइने नयाँ योजनामा समेटिएको छ ।