Devdaha Tv | शिक्षा / प्रविधि
आश्विन १८ | 2022 Oct 04
Flash News

ने.रा.शि. संगठन देवदहको चौथो नगर परिषद सम्पन्नः शर्मा शिक्षक हिरो २०७८ बाट सम्मानित

2 months ago
ने.रा.शि.-संगठन-देवदहको-चौथो-नगर-परिषद-सम्पन्नः-शर्मा-शिक्षक-हिरो-२०७८-बाट-सम्मानित

आषाढ २३ । नेपाल राष्ट्रिय शिक्षक संगठन देवदहको चौथो नगर परिषद सम्पन्न भएको छ । बिहिबार देवदहमा अवस्थित होटल ओम दर्शनमा परिषद सम्पन्न भएको हो । परिषदमा उत्कृष्ट शिक्षकलाई सम्मानित गर्ने संगठनको नयाँ अवधारणा अनुसार केरवानी मा. वि. तथा देवदह बहुमुखी क्याम्पसका अंग्रेजी शिक्षक होमनाथ शर्मालाई शैक्षिक योगदान तथा अनुसन्धानको प्रशंसा गर्दै शिक्षक हिरो २०७८ बाट सम्मानित गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले संगठन व्यक्तिगत लाभका लागि भन्दा पनि संस्थागत रुपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आफ्नो कार्यकालमा शिक्षकहरुलाई सम्मानित वातावरण सिर्जना गर्ने बताउँदै समग्र बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरिएको समेत जानकारी दिनुभयो । प्रमुख खरेलले देवदहमा संगठनलाई स्थापित गर्न तथा यसका कमजोरी एवं समस्याहरुलाई निराकरण गर्न आँफु सदैव तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रमको औचित्यमाथि बोल्दै संगठनका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले संगठन शिक्षकका पेशागत हकहितका लागि सदैव एकजुट भएर अगाडि बढ्ने बताउनुभयो । उहाँले संगठनको करीब १५ महिना अवधिको प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संगठनका कोषाध्यक्ष करुणाकर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लीराज भण्डारीले सरकारले संघिय शिक्षा ऐन ल्याउन ढिलाई गरिरहेको गुनासो गर्दै उक्त ऐन आएपछि शिक्षकका अधिकांश समस्याहरु सम्बोधन हुने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीका अध्यक्ष धनिश्वर गौतम, संगठनका पुर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य ऋषिश्वर अर्याल, नेकपा एमाले नगर सचिव विष्णु प्रसाद अर्याल, शिक्षक इन्दिरा अर्याल लगायतले निजामती कर्मचारी र शिक्षक बिचमा रहेको विभेद तथा शिक्षकलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन हुनुपर्ने तर्क राख्नुभयो । उहाँहरुले संगठनले निरन्तर रुपमा शिक्षकका पेशागत हकहितका लागि आवाज उठाउँदै आएको स्मरण गर्दै संगठनले शैक्षिक क्षेत्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । 
परिषद संगठनका उपाध्यक्ष शिला मल्लको स्वागत र सचिव यमलाल अर्याल राजुको सञ्चालनमा सम्पन्न भएको थियो ।