आषाढ २४ । मुक्तिनाथ गैह्रे । रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. गुणस्तर प्राप्त संस्था राममणि बहुुमुखी क्याम्पसमा जर्नल विमोचन र परिमाणात्मक अनुसन्धान सम्बन्धी ३ दिने कार्यशाला उद्घाटन एकैसाथ सम्पन्न भएको छ ।
राममणि क्याम्पसका संस्थापक क्याम्पस प्रमुख समेत रहनुभएका प्रोफेसर सुदर्शन प्रसाद नेपालले आज शुक्रबार एकैसाथ विमोचन र उद्घाटन गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटीका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका प्रोफेसर नेपालले राममणि क्याम्पसको बहुपक्षीय विकास र विस्तारले आफू हर्षित भएको भन्दै अन्य क्याम्पसहरूले राममणिबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो ।
अनुसन्धान समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व क्याम्पस प्रमुख एवम् समितिका पूर्व संयोजक डा. खगराज शर्माले प्राज्ञिक विकासका लागि १० वर्षयता अनुसन्धान समितिमार्फत् प्राध्यापकहरूले उल्लेख्य कार्य गर्दै आएको बताउनुभयो ।
अनुसन्धान समितिका सदस्य मुक्तिनाथ गैरेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै संयोजक डा. भण्डारीले जर्नलको आठौं अंक समेत प्रकाशनको तयारी भैसकेको बताउनुभयो ।
क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, पूर्व क्याम्पस प्रमुखहरू मोहनराज शर्मा, टेकराज अर्याल, डा. बाबुराम ज्ञवाली, बालकृष्ण अर्याल लगायत ३२ जना प्राध्यापकहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सञ्चालन भएको थियो ।
पर्सीसम्म सञ्चालन हुने परिमाणात्मक अनुसन्धान सम्बन्धी ३ दिने कार्यशालामा १५ जना प्राध्यापकहरूले भाग लिएका छन् । कार्यशालामा क्याम्पसका प्राध्यापकहरू डा. अशोक भण्डारी, कृष्णकुमार रेग्मी र राजेन्द्र थापाले सहजीकरण गर्नुभएको छ ।