मिना गैरे । उसंग कुरा गर्र्दा लाग्थ्यो की मैले संसार पाएकी छु, संसार जितेकी छु । कुनै पल उबाट टाढिन नचाहने मेरो मन मस्तिष्क आज भारी भएर दुखिरहेको छ । मुस्कुराउँदै गरेको स्टिकरबाट सुरु भएको वार्ता आज ब्लकलिस्टमा सीमित हुन पुगेको छ ।
१७ पुगेर १८ लाग्दै गरेको उमेर, गाउँमै पाएको महिनामा ३ हजारको सानो जागिर, कक्षा १२ को परीक्षा दिएर नयाँ नयाँ फेसबुक खोलेको म, अनि उ चाँही ११ को परीक्षा दिएको । तिनचार दिनमा एउटा फ्रेन्ड रिक्वेस्ट आयो । कसले पठाएछ भनेर उसको प्रोफाईल खोलेर हेरे – हेर्दा उ अति नै मन प¥यो मलाई । कालो कालो वर्णको, मुसुक्क मुस्कुराएको उसको तस्बिर हेर्दा उ एकैपटकमा मेरो मनमा बस्यो । फेसबुकमा उसको रिक्वेस्ट एक्सेप्ट गरे । त्यसको केही दिनपछि वार्ता सुरु भयो । मुस्कुराएको स्टिकरबाट । सामान्य चिनजान पछि दिनहँुजस्तो कुरा हुन लाग्यो र हामी एकअर्कासँग नबोली बस्न नसक्ने भयौं । कुरा यस्ता कि अरु कसैलाई न सुनाउन सकिने न त व्याख्या नै गर्न सकिने, त्यति मिठा र समिपका कुरा ।....... आज त्यो पल सम्झदा पनि व्यर्थमै दुखिहाल्छ यो मन ।
घरमा नेट थिएन त्यही भएर उसँगै बोल्ने बाहनामा अफिसमै म अनलाईन काम गर्छु भनेर केही अबेलासम्म बस्ने गर्थे, थोरै भएपनि डाटा जोगिन्छ कि भनेर । प्रेम थियो उसँग मलाई, म कसरी सक्थे र उसँग नबोली बस्न ? नाई सक्दिनथे र आज पनि म उसकै बोली सुन्न यसरी तड्पिएको छु कि जसरी म हप्तौदेखिको प्यासी र भोकी छु । पलपलमा उसकै याद अनि उसको त्यो मिठो आत्मियपन, सुरिलो आवाज अनि आफ्नोपनको आभास त्यसमा माया अनि ख्याल गर्ने बानी । तर सबै धेरै दिनसम्म रहेन, सायद पाहुना थियो । सम्झदा त मिठा लाग्छन् ति कुराहरु तर म आज आफूलाई कसरी सम्हालु? हिम्मत टुटेजस्तो, जिन्दगी नै फुटेजस्तो अनि दैवले सारा खुसी लुटेजस्तो लाग्ने गर्छ मलाई । जति कोसिस गरेपनि म हास्न सकेकी छैन् । कमेडी भिडियो हेर्दा पनि केटाकेटीहरु भाडाकुटी खेलेजस्तै लाग्छ । उफ् कसरी सम्हालु आफूलाई एउटा प्रेमीको यादमा किन म यसरी पागल भईरहेछु । मलाई थाहा छ, भुल्नु छ मैले उसलाई अब जसरी भएपनि । तर म एकपल त उसको बारेमा नसोची रहन सक्दिन अनि कसरी सकुला र भुल्न । कुन क्षण हुन्छ र मैले उसलाई याद नगरेको । भन्न पो सक्दिन र कसैलाई तर हरपल याद गर्छु । तर म चाहेर पनि सक्दिन भुल्न ।
खै सायद म मा नै केही कमी रह्यो होला जो उसको मनमा रहन सकिन् । हुन त उ मभन्दा एक बर्षले कान्छो तर मायामा उमेरले केही गर्दैन भन्ने मेरो सोच । अनि उ पनि मेरो कुरामा सहमति जनाउँथ्यो । प्राय जसो सबै बानी मिलेर पनि छुट्टिएका हामी । मेरो घर पाल्पा, अनि उँ गुल्मेली । जन्मथलो गुल्मी भएपनि पेशाको शिलशिलामा बुटवल बस्दै आएको थियो उ । मिठाईको पसलमा जागिर गथ्र्याे उ, उसको ठूलोबुवाले खोजिदिनुभएको रे । मिठाई मलाई त्यसैपनि प्राणप्रिय, सानैदेखि मरीहत्ते गर्थे । उसलाई मैले, ”मलाई चकलेट र मिठाई ल्याईदेउँ” भन्ने गर्थे । उ मेरो कुरा सुनेर हास्ने गथ्र्याे ।
अब हामी एकदिन भेट्ने सल्लाह गर्याै, म धेरै उत्सुक थिए उसलाई आफ्नो आँखा अगाडी देख्न । मेरो खुट्टा भुईमा थिएनन् । भेट हुने दिन पनि नजिक आउन लाग्यो । त्यो दिन म हाम्रो पाल्पाबाट बिहान ७ः३० बजेको बतासेको माईक्रोमा मेरी साथी मायासँग बुटवल आए । पाल्पा बुटवल सडकखण्ड पहिलेदेखि नै दयनिय हो । बुटवलको बसपार्क आउँदा १२ बज्यो । हामीले बुटवलका ठाउँ चिनेका थिएनौ, हामी दुवैजना पहिलोपटक त बुटवल आएका थियौ, त्यो पनि घरमा ढाटेर । बुटवलको घाम, खाना नखाएको पेट । आफैले आफैलाई बिरामी भयौँ भन्दै हास्यौ हामी दुवैजना । अनि हामिलाई जानु थियो फूलबारी, तर बाटो हामी दुवैलाई थाहा थिएन् ।
हामी अल्मलियौ, एकपटक त हामी बाटो नचिनेर भैरहवा पुगेर फर्किर्यौ । हामी फेरी बसपार्क गयौ । एउटै उपाय थियो, मैले गोविन्दलाई फोन गरे । उसले मलाई फूलबारी जाने बाटो बतायो । धेरै बेरको दौडधुपपछि अन्ततः माया र म फूलबारी पुग्यौ । फूलबारी पुगेपछि हाम्रो र उसको भेट भयो । त्यो दिन मैले मेरो प्रेम, मेरो गोविन्दलाई प्रत्यक्षरुपमा देखेको थिए । म यति खुशी थिएकी, बयान गर्नलाई मसँग कुनै शब्द नै छैन । लजाएर गोबिन्द र म बोल्नै सकेनौ । बस् एकअर्कालाई हेरेर मुस्कुराईरह्यौ । एकैछिन घुम्यौ, र हामी खाजा खान एउटा खाजा पसलमा गयौ । तिन जनाले एकएक हाप चाउमिन खायौ । भन्दिन भन्दा भन्दा पनि मुखबाट फुस्किहाल्यो, ”घरमा ढाटेर आएको हामी” उसले मलाई घरमा नभनी कहीँ पनि नहिड्न भन्यो । फेरी देखी हिड्दिन भने अनि अबेला भईसकेको थियो । हामीलाई समयमै घर पुग्नुपर्ने थियो त्यसकारण हामी फर्कियौ । पहिलो भेटको त्यो रमणिय क्षण कहाँ म भूल्न सक्छु र । फेसबुकमा देखेभन्दा पनि गुणी थियो उ ।
भेट त त्यसपश्चात पनि भयो तर त्यतिबेला उ पुरै बदलिसकेको थियो । सायद वदलाव नै प्रकृतिको नियती थियो । त्यही फूलबारीको अविस्मरणीय भेट नै उसँगको अन्तिम भेट हो । किनकी पछिल्ला भेटहरुमा उ बदलिसकेको थियो ।
पहिलो भेट पछि झन नजिकिएका हामी ४÷५ महिना हुँदा एक शब्द पनि बोलेका छैनौ । ३ महिना पहिले उसले मलाई विदेश जान्छु भनेको थियो । विदेश जानुभन्दा यही स्वदेशमै केही गर्नु राम्रो हुन्छ जान्छौ भने त म के भन्न सक्छु र । सकेसम्म यही केही गरौ । उसले मेरा कुरा सुनेर केही पनि नभनि फोन काटेको थियो । त्यसपछि पनि कुराहरु भईरहेको थियो ।
बिस्तारै बिस्तारै उ हराउँन थाल्यो । दिनदिनै हुने कुरा हप्तामा पुगे अनि हप्ता त के महिनामा पनि कुरा हुन छाड्यो । आज यत्तिका दिन भए तर उ बोलेको छैन् । उ हराउँदै थियो त्यही बेलामा फोन गर्दा उ झर्किदै मलाई भन्यो, ”तेरा नानाथरी कुरा सुन्नु छैन् मलाई, जतिबेला पनि नानाथरी कुरा गर्छेस् ”, झर्केको मात्र होईन उसले त्यही दिन मलाई पहिलोपटक त भनेको थियो । सायद केही पिर चिन्ताले होला भन्ने सोचे । मेरा फोन एसएमएसको कुनै रिप्लाई आउँन छाड्यो । म कसरी आफ्नो मन सम्हाले मलाई थाहा छैन । एकदिन उसले भन्यो, ”तैले मलाई डिस्टप गर्छेस, अबबाट तसँग कहिले पनि बोल्दिन । ”वास्तवमै त्यस्तै भयो, उ साच्चिकै मसँग बोल्न छाड्यो, न आफूले मलाई बोलायो ।
मैले केहीदिन अघि उसको दिदीलाई म्यासेज गरेर सोधे, गोविन्द खै? उसको त बिहे भयो, भागेर बिहे गरेको हो दिदीले भन्नुभयो । यस्तो सुन्दा म छाँगाबाट खसेजस्तै भए, मुटु रोकिएजस्तै भयो र पुरा ज्यान नै चिसो भयो । मलाई विश्वास लागेन दिदीको कुरामा । म उसलाई फोन गरे तर फोन रिशिभ नै भएन् । अब त फोन हान्ने हिम्मत पनि छैन ममा ।
२ दिन अगाडि फेसबुकमा उसको नयाँ आईडी देखे प्रोफाईल खोलेर हेरे मैले राख्न भनेको फोटो नै प्रोफाईलमा राखेको रहेछ । प्रोफाईलमा त उसको सबै आफ्ना मात्र फोटा थिए । मेरो मन केही हल्का भयो र म्यासेज नगरी मेरो मनले मानेन । म्यासेजको रिप्लाई आएन् । १५ मिनेटपछि हेरेको मलाई ब्लक हानिसकेको रहेछ । मेरा भ्रम अब बास्तविकता भईसकेका थिए । पहिले लाग्थ्यो सायद उ थोरै व्यस्त भएर हो तर उ त्यति धेरै व्यस्त पनि रहेनछ । मैले मेरी साथी दयालाई उसको प्रोफाईल हेर्न भने । दयाले मलाई अरु केही नभनि एउटै कुरा भनि तिमी अब मुभ अन होऊ । मैले उसलाई सबै कुरा सोधे तर उसको जवाफ केवल एउटै थियो ।
मलाई लाग्छ सायद उ मसँग बोल्न चाहदैन र आफ्नो जिन्दगीमा खुशी छ, अब मैले उसलाई कल एसएमएस गरेर डिस्टप गर्नुहुँदैन् । उसलाई नचाहेका मान्छेसँग नबोल्ने स्वतन्त्रता छ, मैले कसैको स्वतन्त्रता भंग गर्नुहुँदैन् । जसरी भएपनि सम्हाल्न छ मैले यो मनलाई अनि मेरा नानाथरी कुरालाई ।