Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

साना किसान कृषि सहकारीले बितरण गर्याे दुग्ध उत्पादन सामाग्री

1 month ago
साना-किसान-कृषि-सहकारीले-बितरण-गर्याे-दुग्ध-उत्पादन-सामाग्री

श्रावण २० । साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहले दुग्ध उत्पादन सामाग्री वितरण गरेको छ । शुक्रबार संस्थाको कार्यालयमा एक कार्यक्रम आयोजना गरि २५ जना दुग्ध उत्पादक कृषकहरुलाई प्रतिव्यक्ति २ वटा क्यान र २ वटा बाल्टी प्रदान गरेको हो । 

नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय मातहतको नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजनाको १ करोड रुपैयाँ अनुदान र सहकारीको १ करोड गरि कुल २ करोडको लागतमा देवदहका २५ जना दुग्ध उत्पादक कृषकहरुलाई अनुदान प्रदान गरेको सहकारीले जनाएको छ । जसमा १७ जना कृषकलाई नयाँ गोठ निर्माणका लागि र ८ जनालाई गोठ सुधारका लागि अनुदान प्रदान गरिएको थियो । सोही आयोजना अन्तर्गत दुग्ध उत्पादन सामाग्री प्रदान गरिएको हो । 

कार्यक्रममा बोल्दै नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजनाका प्रमुख गान्धीराज उपाध्यायले पशुपालनले आज लगानी गरेर भोलि नै उत्पादन दिने क्षेत्र भएकाले पशुपालनमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जनताको निकटमा रहेको स्थानीय तहले खाली संरचनाको बिकासभन्दा पनी उत्पादन केन्द्रित योजनामा काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषकहरुले पनि त्यस्ता योजना निर्माणका लागि पहल गर्नुपर्ने बताउनुभयो । प्रमुख उपाध्यायले आयोजनाले पहिलेका कमि कमजोरीलाई हटाउँदै वास्तविक किसानहरुलाई अनुदान प्रदान गर्नेगरि काम गरिरहेको जानकारी दिनुभयो । उहाँले आयोजनामा समेटिएका किसानहरुले नमूना रुपमा काम गर्दै अरु नयाँ किसानहरुलाई पनि प्रेरित गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रमको औचित्यमाथी बोल्दै सहकारीका अध्यक्ष टीका गौतमले दुग्ध उत्पादनमा क्रियाशील किसानहरुलाई थप व्यवसायीक बनाउन आयोजनासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले साना किसानहरुलाई उत्पादनमा जोड्नका लागि आयोजनाले ठूलो सहयोग गरेको उल्लेख गर्नुभयो । अध्यक्ष गौतमले कृषकहरुले देखाएको उत्साह र सहकारीको निरन्तर प्रयासले आयोजना प्राप्त गर्न सकिएको बताउनुभयो । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवदह नगरपालिका पशु सेवा शाखाका प्रमुख हर्क बहादुर दानीले आयोजना प्रक्रियागत रुपमा केही झन्झटिलो जस्तो लागेपनि दीर्घकालीन प्रयोजनका हिसाबले निकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । 

कार्यक्रममा आफ्नो धारणा राख्दै संस्थाका शेयर सदस्य तथा कृषक चोडा प्रसाद चापागाईंले कृषक रहे कृषि रहने र कृषि उत्पादन नै सबैको जीवनको आधार भएकाले कृषकलाई सबैतिरबाट सहयोग हुनुपर्ने बताउनुभयो । उहाँले कृषकका लागि निकै महत्वपूर्ण साबित भएको आयोजना र त्यसको लागि ठूलो भूमिका खेल्ने साना किसान कृषि सहकारीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । 

कार्यक्रम संस्थाका अध्यक्ष टीका गौतमको अध्यक्षता, सञ्चालक समिती सदस्य डण्डपानी भट्टराईको स्वागत र व्यवस्थापक सरला सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।