Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

सोइयाद्वारा आयोजित ३ दिने शिक्षक तालिम समापन

1 month ago
सोइयाद्वारा-आयोजित-३-दिने-शिक्षक-तालिम-समापन

श्रावण १९ । सोइया महिला स्वालम्बी संस्थाद्वारा आयोजित ३ दिने शिक्षक तालिम सम्पन्न भएको छ । स्कुल लाइफ इन नेपालको पार्टनर कार्यक्रम तथा सिभिल सोसाइटी फन्टको गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो । तालिममा देवदहका ६ वटा विद्यालयका कक्षा ८ देखि १० सम्म अध्यापन गर्ने ५० जना शिक्षकहरुलाई कार्यमूलक अनुसन्धान, शिक्षण सिकाई क्रियाकलापमा सूचना प्रविधिको प्रयोग तथा सहकार्य सिकाई बिषयमा देवदह नगरपालिकाका शिक्षा अधिकृत परशुराम ढकाल, प्रविधिविज्ञ इन्द्र बहादुर थापा र बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक प्रकाश शर्मा पौडेलले तालिम प्रदान गर्नुभएको थियो ।

कार्यक्रम समापन गर्दै प्रमुख अतिथि देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले नगरपालिकाले गर्नुपर्ने कार्यक्रम सोइयाले आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागीहरुको प्रतिक्रियाबाट नै तालिमको प्रभावकारिता उच्च रहेको मूल्यांकन गर्न सकिने बताउँदै अघिल्लो कार्यकालमा आफू शिक्षा समितिको अध्यक्ष रहँदा शैक्षिक बिकासका लागि धेरै प्रयत्न गरेको स्मरण गर्नुभयो । उपप्रमुख गुरुङ्गले शैक्षिक असफलताका लागि शिक्षकलाई मात्र दोष दिएर नहुने उल्लेख गर्दै शिक्षाको समग्र विकासका लागि सबै क्षेत्रले जिम्मेवारी बहन गर्नुपर्ने आवस्यकता औँल्याउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका शिक्षा अधिकृत परशुराम ढकालले तालिम प्रदायक संस्थाले अभियानका रुपमा शैक्षिक सुधारका गतिविधि अगाडि बढाउनु प्रशंसनीय कार्य भएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको सुधारका लागि हरेक शिक्षकले आफ्नो क्षमतालाई प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै महामाय भवानी मा. वि. का प्रधानाध्यापक ऋषिश्वर अर्यालले देवदह क्षेत्रमा सञ्चालीत विभिन्न संस्थाहरुको माझमा सोइयाले गरेका शैक्षिक सुधारका प्रयासहरुको प्रशंसा गर्नुभयो । उहाँले शैक्षिक गुणस्तर अभिवृद्धिको क्षेत्रमा काम गर्ने संस्थाहरुलाई सबै क्षेत्रबाट रचनात्मक सहयोग हुनुपर्ने आवस्यकता औँल्याउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै शिक्षक महासंघ देवदहका अध्यक्ष निर्मल ढुङ्गानाले तालिमबाट प्राप्त सीप तथा अनुभवहरुको प्रयोगका लागि विद्यालयका कक्षाकोठाहरु अनुकुल बनाउनुपर्ने आवस्यकता औँल्याउनुभयो ।

सहभागीका तर्फबाट मन्तव्य राख्दै केरवानी मा. वि. का शिक्षक होमनाथ शर्माले तालिम सोँचेभन्दा बढी प्रभावकारी रहेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई विद्यालयको स्रोत र साधनले भ्याएसम्म अधिकतम प्रयोग गर्ने बताउँदै महत्वपूर्ण तालिमको आयोजना गर्ने संस्था तथा सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै अर्का सहभागी महमाया भवानी मा. वि. का शिक्षक यमलाल अर्यालले शिक्षण सिकाईमा शिक्षकको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै बिगतका अनेकौँ तालिमबाट प्राप्त उपलब्धि भन्दा धेरै उपलब्धि प्राप्त भएको बताउनुभयो । उहाँले सामूदायिक विद्यालयभित्र हुने राजनीतिक तथा विभिन्न हस्तक्षेपले गर्दा एउटा शिक्षकले चाहेर पनि धेरै सुधार गर्न नसकेको गुनासो गर्दै तालिम प्रदायक संस्थाले विद्यालयको समग्र पक्षको समेत अनुगमन गर्नुपर्ने आवस्यकता औँल्याउनुभयो ।
त्यस्तै जनता मा. वि. का शिक्षक बिमला अर्यालले जान्ने र नजान्ने विद्यार्थीबिच रहेको खाडललाई पुरा गर्नुपर्ने आवस्यकता औँल्याउँदै यस्ता तालिमहरुले शिक्षकहरुलाई थप सीप र प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
त्यस्तै अर्का सहभागी केरवानी मा. वि. का शिक्षक यज्ञप्रसाद न्यौपानेले प्रशिक्षकहरुले शिक्षा क्षेत्रमा देखिएका नवीन प्रयोगका बारेमा रचनात्मक तरिकाले सिकाएको उ्ल्लेख गर्दै तालिममा सिकेका सिपलाई कक्षाकोठामा पूर्ण रुपमा प्रयोग गर्नका लागि चुनौती समेत रहेको बताउनुभयो ।
संस्थाले विभिन्न सहयोगी संस्थाहरुसँगको सहकार्यमा बिगतदेखि नै विभिन्न शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । बाल बिकासदेखि कक्षा ३ सम्म र कक्षा ४ देखि ७ सम्म अध्यापन गराउने शिक्षकहरुलाई यस अघि नै छुट्टाछुट्टै चरणमा तालिम प्रदान गरिसकेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले तालिम शिक्षण सिकाई कार्यलाई मनोरञ्जनात्मक बनाउँदै प्रभवकारी बनाउनका लागि उपयोगी हुने बताउनुभयो । उहाँले सूचना प्रविधिको व्यवस्थापनसँगै त्यसको सञ्चालनका लागि आवस्यक सीप समेत प्रदान गर्नुपर्ने आवस्यकता औँल्याउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष केशमाया थापाको अध्यक्षता र गुणस्तरीय शिक्षा कार्यक्रमका कोर्डिनेटर नारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।