Devdaha Tv | फिचर
आश्विन १८ | 2022 Oct 04
Flash News

विकास वरदान कि अभिसाप

1 month ago
विकास-वरदान-कि-अभिसाप

मिना गैरे । मानिस चिन्तनशील छ र उ परिवर्तनकारी विचार राख्दछ । यस्तै परिवर्तनकारी विचार राख्ने र चिन्तन गर्ने मानवीय स्वभावका कारण विश्व यहाँँसम्म आईपुगेको छ । आजको विश्व परिवर्तनको नतिजा हो, विज्ञानको युग हो, औद्योगिकीकरणको युग हो । विश्वमा सुरुवातदेखि आजसम्म युगान्तकारी परीवर्तनहरु हुँदै आएका छन् । आज सञ्चार, यातायात, प्रविधी देखि लिएर हरेक क्षेत्रमा अविश्वासनीय विकास भएका छन् भन्ने कुरा मानव सभ्यताको सुरुवाती चरण र आजको विश्व नियाल्दा छर्लङ्ग हुन्छ । हिजो जंगलमा जिवन व्यतित गर्ने मानव जाती आज सर्वश्रेष्ठ प्राणी बनेको छ । मानव आज पृथ्वीमा मात्र होईन अन्तरिक्षमा पनि पुगेको छ । अन्तरिक्षमा पनि मानवले विभिन्न खोज अन्वेषण गरिरहेको छ । अन्तरिक्षमा मानव बस्ती बसाउन प्रयत्नशील छ । 

विश्वमा विज्ञानसँगै धेरै कुराको विकास भएको छ । शिक्षा, स्वास्थ्य, उद्योग, कलकारखाना लगायत मानवले थुप्रै कुरामा विकास हाँसिल गरेको छ । नयाँ नयाँ आविष्कारहरु गरेको छ । विकास राम्रो कुरा हो तर विकासले कहिलेकाही असर पनि गर्ने गर्छ । 

पछिल्ला केही वर्षयता नेपालले विश्वसँगै विविध समस्याको सामना गर्दै आईरहेको छ । भुकम्प, बाढी पहिरोे, ज्वालामुखी जस्ता दैवी प्रकोप तथा कोरोना भाईरस, मंकीपक्स, सार्स जस्ता अति जटिल र खतरनाक भाईरसको पनि पुरा विश्व समुदायले सामना गर्दै आईरहेको छ । हाम्रो प्रकृति र वातावरण परीवर्तनशील छ । यहाँ हर एक सेकेण्डमा धेरै कुराहरु परीवर्तन भईरहेका हुन्छन्, कुनै हामी देख्न सक्छौ भने कुनै देख्न सक्दैनौ । 

पृथ्वीमा भईरहेका अनेकौं मानवीय क्रियाकलाप र वातावारणीय परीवर्तनका कारण विश्वले अनेकौं नविन समस्याको सामना गर्दै आईरहेको छ । पछिल्लो समयमा विश्वले प्रविधी, स्वास्थ्य र औद्योगिकीकरणमा ठूलो उपलब्धि हासिल गरेको छ र अझै थप उपलब्धिहरु हासिल गर्न प्रयासरत छ । भनिन्छ नि केही पाउँन केही त अवश्य गुमाउँनुपर्छ, त्यस्तै मानिसले पृथ्वीमा गरेका विकासका कार्यहरुले सबैलाई फाईदाका साथसाथै असर पनि पारिरहेको छन् । पछिल्ला समयमा विकास भएका अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण, जल प्रदुषण, वायु प्रदुषण जस्ता प्रदुषणका कारण वातावरण प्रदुषण मात्र हाईन् कि वातावरणीय संरचना र जीवजन्तुहरु रेडियसनका कारण लुप्त हुने अवस्थामा पुगेका छन् । 

विश्वमा भईरहेका अनेकौ प्रयोग र आणविककरणले चाँडै नै पृथ्वीबाट मानव तथा जीवनका सम्पूर्ण सम्भावनाहरुको अस्तित्व अन्त्य नहोला भन्न सकिदैन । विश्वका केही शक्तिशाली राष्ट्रहरु आफ्नो शक्ति प्रदर्शनमा उत्रिरहेका बेला आणविक हातहतियारको प्रयोगले मानव जातीको नाश गर्ला भन्ने कुरा नकार्न पनि सकिंदैन । रुस–युक्रेन युद्ध, अमेरिका र चिनबिचको बढ्दो तनाव र चिन ताईवान युद्ध यसका ज्वलन्त उदाहरणहरु हुन् । आणविक रुपमा शक्तिशाली यी राष्ट्रहरुबिचको युद्धले संकेत गर्दछ कि तेस्रो विश्वयुद्ध भयो भने मानवीय संकटको स्थिती सिर्जना हुन्छ । 
कतिपय देशले जैविक र आणविक प्रयोगलाई बढाईरहेका छन् । यो पनि विश्व समुदायका लागि खतराको घण्टी हो । आणविक प्रयोगले त्यसैपनि वातावरणमा असर पारिरहेको हुन्छ । आज विश्वमा जिवाणुमाथि धेरै प्रयोगहरु भईरहेका छन् । आज ल्यावहरुमा बनिरहेका भाईरस के भोली विनासका कारण बन्ने त होईनन् ? प्रकृति त्यसै पनि सिर्जनशील छ, आर्टिफिसीएल् भाईरस् भोली विकसीत भई मानवका लागि खतरा बन्न पनि सक्छ । 

प्रकृतिको प्रवाहबिना भइरहेको बेहिसाब बिकासको फलस्वरुप ग्लोवल वार्मिङ्ले पनि थप समस्याको सिर्जना गर्दै गईरहेको छ । ग्लोबल वार्मिङ भनेको ग्रहको समग्र तापक्रमको दीर्घकालीन तापक्रम हो अर्थात गत शताब्दीमा पृथ्वीको औसत सतहको तापक्रममा भएको असामान्य रूपमा तिव्र बृद्धि हो जुन मुख्यतया जीवाश्म ईन्धनहरू जलाउने, उद्योग कलकारखानाको बढ्दो प्रयोग, आणविक हातहतियार निर्माण तथा प्रयोग, मानिसहरूद्वारा बिभिन्न खालका सामाग्रीहरुको प्रयोग वा दुरुपयोग गर्दा निस्कने हरितगृह ग्यासहरू लगायतका कारण हुने गर्छ । ग्लोवल वार्मिङ्का कारण विश्वले असामान्य वातावरणीय परीवर्तनहरुको सामना गरिरहेको छ । 

वातावरणीय परिवर्तन, अव्यवस्थित औद्योगिकरण र अव्यवस्थित सहरीकरणलाई प्रमुखतया विश्व समस्याको जरो मान्न सकिन्छ । अव्यवस्थित औद्योगिकरणले वातावरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । उद्योगबाट निस्कने फोहोर र पानी व्यवस्थित तरीकाले व्यवस्थापन नहुँदा त्यसको प्रत्यक्ष असर वातावरणमा पर्दछ । त्यस्तै अव्यवस्थित सहरीकरणले पनि वातावरण प्रदु्षित बनाईरहेको छ । अव्यवस्थित सहरको उदाहरणका लागि धेरै टाढा पनि जानु पर्दैन । नेपालकै केही चर्चित सहरहरु छन् जुन प्रदुषणको दोस्रो नाम बनेका छन् । काठमाडौं, बुटवल, किर्तिपुर, तुल्सीपुर, भक्तपुर यी सहर नेपालकै अति प्रदुषित सहर हुन् । २०२१ को तथ्याङ्क अनुसार नेपाल अति प्रदुषित सहरहरुको सूचीमा १ सय १८ देशमध्ये १० औँ नम्बरमा पर्छ । विकासका नाममा भएका अव्यवस्थित औद्योगिकीकरण र अव्यवस्थित सहरीकरणको व्यवस्थापन गर्नु आजको प्रमुख आवश्यकता हो । वातावरणीय तथा मानवीय सुरक्षालाई ध्यानमा राखेर विकासका कार्य गर्ने हो भने पक्कै पनि नेपाल र सम्पूर्ण विश्वले युगान्तकारी र दिगो विकास हात पार्न सक्छ । आजका हाम्रा कार्य र आजको विकास भोलीको विनासको कारण बन्नुहुँदैन् । विकास सकारात्मक र दिगो हुनुपर्छ । 

 

(लेखक देवदह टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन्)