Devdaha Tv | फिचर
आश्विन १८ | 2022 Oct 04
Flash News

बढ्दो आयातीत संस्कृतिले मौलिकता संकटमा

1 month ago
बढ्दो-आयातीत-संस्कृतिले-मौलिकता-संकटमा

मिना गैरे । श्रावण २६ । जनजनको मुखार विन्दुबाट सुन्दै आएको कुरा हो, समय परिवर्तनशील छ । तर मलाई लाग्दैन समय परिवर्तनशील होला जस्तो, किनकी समय त आफ्नै गतिमा निरन्तर बढिरहेको छ : न कसैलाई पर्खिएको छ, न कसैबाट टाढा भागिरहेको छ । न कसैको आशा छ उसलाई, न कसैको नजरमा राम्रो बन्ने लालसा । यहाँ मानिसहरु व्यर्थैमा समयलाई बदनाम गरिरहेछन् । कतै ग्लोबल वार्मिङ्का कारण देखिदै गरेका समस्याहरुले समय परिवर्तन भएको भान त बनाईरहेको छैन मानिसहरुमा ? सायद भम्रित छन् मानवहरु आज । वास्तवमा परिवर्तन त बस मानिस भएका हुन्, उनीहरुको सोँच विचार भएको हो, उनीहरु रहने स्थान भएको हो, परिवेश भएको हो, आस्था भएको हो, वातावरण भएको हो, स्थिती भएको हो, संस्कृति भएको हो, सभ्यता भएको हो, विश्वास भएको हो । कुरा परिवर्तनकै गर्ने हो भने त परिवर्तनको संवाहक नेपाली समुदायलाई पनि लिन सकिन्छ ।


किनकी नेपाली समुदायमा नगण्य समयमै आमूल र ठूलाठूला परिवर्तनहरु आएका छन् । चाहे राजनीतिमा होस् वा संस्कृतिमा कतिबेला के हुन्छ ? अड्कल काट्न गाह्रो मात्र होईन कि कुनै सन्दर्भमा त असम्भव नै छ । नेपाली राजनीति र संस्कृतिमा आउने उतारचढाव त नेपालको परिवेशमा सामान्य जस्ता कुरा हुन् । तर यस्तै सामान्य लाग्ने स्थिती र विषयहरुले कस्ता–कस्ता गम्भीर अवस्थाको सिर्जना भएको छ भन्ने कुरामा प्रायः सरोकारवाला, सरकार तथा सम्पूर्ण नेपाली जनता र नेपालीहरु नै अनविज्ञ छन् । 


तीज आज पेटीकोटकरण भयो,

चाडपर्व भड्किला हुँदा,  

गरीबलाई जेरुसेलमको तरबार भयो ।  

जनैपूर्णिमा राखी भयो ।

ठगहरु देउसी भैलीमा रेट तोक्छन् ।

हेर्दा हेर्दै फागू पूर्णिमा  होली बनिदियो ।  

नेपालीहरु मौलिकता बिर्सीएर  अनावश्यक परिवर्तनका संवाहक बनिदिए ।  

नेपाली संगीत मन पर्दैन रे भन्ने सुन्छु ।  

सार्वजनिक कार्यक्रममा पनि  नेपाली मौलिकपन हेला हुन थाले।  

आउनुहोस् हामी सबै मिलेर हाम्रा परम्परा, संस्कृति, रितीरिवाज,  कला, संगीत, मौलिकता र राष्ट्रको रक्षा गरौं ।  

अब हाम्रो पालो पुर्खाले जोगाएको यो धरोहर जोगाउने । 


नेपाली संस्कृतिमा भएको परीवर्तन :


हाम्रो नेपाल आफ्नो छुट्टै कला, संस्कृति, परम्परा, जातजाती भाषाभाषीले सम्पूर्ण विश्वमा परीचित मुलुक हो । नेपाल विश्वका लागि आस्थाको केन्द्र हो । हाम्रो मौलिकता र परम्परा हेर्न कैयुँ विदेशी पर्यटक आउने गरेका छन् । वास्तवमै कति सह्रानिय र व्यवहारिक छन् नेपाली परम्परा र संस्कृति । 
पछिल्लो समयमा विदेशीहरु नेपाली संस्कृतितर्फ लालायित भएको बेला नेपालीहरु भने आफ्ना संस्कृति भुलेर सबै उ जमानामा यस्तो थियो रे भन्ने स्थितीको सिर्जना गरिरहेका छन् । भन्नुको तात्पर्य यो अवश्य पनि होईन कि परिवर्तनको धारणा राख्नुहँदैन तर आफ्ना विश्व लोभ्याउने संस्कृतिको नाश गर्नु कतैपनि सान्दर्भिक हाईन । त्यसको संरक्षण र संवद्र्धन गर्नूपर्छ । समयसँग परिवर्तन हुनुपर्ने जनविश्वासका कारण हाम्रा परम्परा र रीतिरीवाज संस्कृति, मौलिकता लोप हुने स्थितीमा पुगेका छन् । प्रमुखतः नेपालका राष्ट्रिय पोसाक, राष्ट्रिय खेल, राष्ट्रिय संस्कृति लोप हुने स्थितीमा पुगेका छन् । 

चाडपर्वमा देखिन थालेको अनावश्यक तामझाम :


परापूर्वकालदेखि जनैपूर्णिमा, जन्माष्टमी, हरितालिका तीज, श्रोह्र श्राद्ध, दशैं, तिहार, ईद, ल्होसार, वौद्ध पूर्णिमा, फागू पूर्णिमा लगायतका चाडपर्वहरु नेपाली समुदायमा धुमधामका साथ नै मनाईदै आएको छ । पर्व त पर्व नै हो नाम पनि एउटै तर पर्व मनाउने शैलीमा भने मौलिकता र परम्परा हराउँदै गएका छन् । हाम्रा चाडपर्व हाम्रा जस्ता देखिदैनन्, विदेशी संस्कृति हावी भएको देख्न सकिन्छ । मौलिकता त्यागेर कस्तो चाडपर्व, कस्तो रमाईलो ? हुन त नेपाली समुदायमा नजिकको तिर्थ हेला भन्ने उक्ति नै प्रचलित छ । बुढापाका धेरै ज्ञानी र दुरदर्शी थिए तब यस्तो युग सुहाउँदो टुक्का मिलाएका । त्यस्तै नजिकको तिर्थ हेला भनेझै मानिसहरु आज विज्ञान लुकेको र वैज्ञानिकले समेत आधार मानेर नयाँ अनुसन्धान गर्ने संस्कृति र परम्परालाई भुली वैदेशिक संस्कृतिको अवलम्वन गरीरहेका छन् ।


धेरै टाढा पनि जानुपर्दैन् भोलि नै जनैपूर्णिमा छ । जनैपूर्णिमामा मूलतः ब्राह्मण र क्षत्रिय पुरुषहरुले विधीपूर्वक जनै लगाउने गर्छन् । यसै दिन रक्षाबन्धन पनि मनाईन्छ । रक्षाबन्धनमा आफ्ना अग्रज, ब्राह्मणलगायतद्धारा धागो बान्ने प्रचलन रहीआएको छ । तर पछिल्लो समयमा नेपालमा राखी बाँध्ने दिन भनेर यो दिनलाई चिनिन थालेको छ । नेपालीहरुले अहिले धागो बाँध्ने प्रचलन भुलेर राखी बाँध्ने वैदेशिक संस्कृतिको अवलम्वन गरिरहेका छन् । यसले हाम्रो परम्परागत धागो बाध्ने प्रचलन विस्तारै विस्थापित गर्दै लगिरहेको छ ।


अब जन्माष्टमी र हरितालिका तीजपनि नजिकिदै छ । पछिल्ला समय यता यी पर्वमा पनि तडकभडक र विकृति बढ्दै गएको देख्न सकिन्छ । अझ केही तीजगीत हेर्दा त रत्यौली जस्तो लाग्ने गर्छ । यस्तै एउटा विकृतिको उदाहरण हो, केही समय अगाडि बजारमा आएको पापाकी परी बोलको तीज गीत । जिज्ञासा राख्नुलाई त बरु केही हदसम्म नराम्रो भन्न भएन तर समाजलाई नै पाच्य नहुँने तवरले पेटीकोट पहिरीएर गरीएको नृत्य कतैपनि समाजमा सन्देश पुर्याउँने र सान्दर्भिक होईन । हुन त त्यो दृश्य जनमानसलाई पनि पचेन । तिजजस्तो महान पर्वको महत्व र परम्परालाई यसरी पेटीकोटकरण गरेर म्युजिक भिडियो कम्पनीहरु र निर्माताले तमासा गरिरहेका छन् । विदेशी महिलाहरु नेपालीले सारी लगाएको देखी सारी लगाउन थालेका छन् तर हाम्रा केही नेपाली चेलीहरु उल्टै सारी फुकालेर पेटीकोटमा उफ्रिरहेका छन् । अझ सामाजिक सञ्जाल टिकटकको कुरा निकाल्ने हो भने त मास्क र चस्मा लगाएर मुख छोप्नेजस्तो स्थिती छ । कसैले ब्रा मात्र लगाएर भिडियो बनाएका छन् त कसैले अंग देखिने गरी बनाएर सोझो बनिरहेका छन् । हुन त दर्शकहरुमाझ पनि कताकाता त त्यस्तै भिडियो अति प्रिय हुने गर्छ । यदि त्यसो हुँदैन थियो भने त पक्कै पनि सबै युजरहरुले त्यस्ता विकृति फैलाउनेलाई रिपोर्ट र ब्लक गर्ने थिए ।


अझ तीजमा त तीज सुरु हुनुभन्दा महिनादिन अगाडि देखि नै तडकभडक गर्दै दर खाने, पार्टी गर्ने र अनायासै देखावटीपन हावी भएको छ । समाजमा बढेको यस्तो प्रवृत्तिले ठूलाबडालाई रमाईलो लागेपनि निम्न बर्गीयहरुलाई मारमा पारिरहेको छ । यस्तो भन्दा पक्कै पनि म सबैको विरोध गर्ने भनेर पनि चिनिन सक्छु तर मैले कसैको पनि रमाईलोलाई भंग गर्न नखोजी समाजको एउटा वास्तविक कुरा गरीरहेको छु ।


परम्परा र रीतिरिवाजका कुप्रथालाई हटाउनु पक्कै पनि आजको प्रमुख आवश्यकता हो तर यहाँ त विज्ञान  लुकेको संस्कृति नै लुप्त हुने भयावह स्थितीको सीर्जना भएको छ । यो पक्कै पनि भावी समयका लागि राम्रो संकेत होईन् ।

 
तीजमा मात्र होईन धेरैजसो नेपाली चाडपर्वमा तडकभडक हावी भएको देख्न सकिन्छ । छाक टार्न पनि धौ–धौ हुने निम्नवर्गीय समुदायलाई चाडपर्वले भन्दा पनि त्यसमा अरुले गर्ने तडकभडक र देखावटीपनले जेरुसेलमको तरबारको कथाजस्तै स्थिती सिर्जना गरीदिएको छ । चाडपर्व राम्ररी मनाउन सबैलाई रहर लाग्छ तर केहीले गरेको तडकभडक र देखावटीपनले अधिकांशलाई गिज्जाईरहेको छ ।


अझ तिहारमा हेर्ने हो भने त आँखा नै खुल्ला पार्नुपर्ने स्थिती छ । सरकारले र वातावरण विभागले पटका नपड्काउँन भनेपनि अधिकांश मानिसहरुले नसुनेजस्तै गरेर ध्वनी प्रदुषणमा उल्लेख्य योगदान गरीरहेका छन् । अनि एकातर्फ आउँछन् क्यासेट लिएर देउसी भैलो खेल्नेहरु । न गित गाउँने ढंग, न सुर मिलाउन सक्ने क्षमता, न भट्टाउन जान्ने, न गितले भनेको आसय बुझ्न सक्ने अनि रेकर्डेड गितको भरमा घुमेर अन्त्यमा बस् छानामाथि घिरम्ला पैसा दिए हिडम्ला भन्दै भैली खेलेको पनि रेट नै तोक्ने गलत प्रचलन समेत विकसीत भएको देखिन्छ । परम्परा हो खेल्नुपर्छ, अनि परम्परालाई अगाडी पनि बढाउनुपर्छ तर परम्पराका नाममा घरघरमा पुगेर व्यापार गर्नु त भएन नि, त्यो पनि कसैको आस्थामाथि । जति सक्यो दिन्छन् यति उति भन्दै रेट लगाउने त कसरी राम्रो भयो र? हुनै सक्दैन । यो पनि पक्कै जनमानसका लागि आधुनिकता हुन सक्छ, तर वास्तवमा एउटा विकृति हो, विसंगति हो, विषमता हो, लाजको पोको हो । पछिल्लो केहि वर्ष यता आयातीत संस्कृतिको रुपमा रंगोलीले पनि निकै लोकप्रियता पाइरहेको छ नेपालमा । केहि वर्ष पहिलेसम्म नदेखिएको यसको अस्तित्व एकाएक लोकप्रिय बनिरहेको परिवेशले पनि संस्कृतिको चरम नक्कललाई दर्शाउँछ ।


अर्काे पनि एउटा यस्तै तितो सत्य छ । नेपालीहरुलाई पार्टी, भोज–भतेर, विद्यालय कार्यक्रम, लगायतका कार्यक्रम हुन या कुनै सार्वजनिक कार्यक्रम होस त्यहाँ नेपालीलाई नेपाली गीत होईन विदेशी गित बजाउनुपर्छ, नाच्नुपर्छ अझ त्यसैमा उनीहरु आँफू महान र ठूलो भएको आभाष गरीरहेका हुन्छन् । कतिपयले नेपाली गीत सुनेजस्तो पनि लाग्दैन भन्दै रवाफ छाँटिरहेका हुन्छन् । गीत सुन्नु पक्कै पनि नराम्रो कुरा होईन तर सार्वजनिक कार्यक्रमहरुमा मौलिकता र राष्ट्रिय गीतहरु तथा नेपाली संगीतहरुको उपेक्षा गर्नु राष्ट्रघात हो, राष्ट्रको अपमान हो ।


अहिले नेपालीहरु फागू पूर्णिमालाई होली भन्न लागेका छन् । सायद भोलीका दिनमा त सबैले फागू पूर्णिमाको नाम बिर्सीएर होली भन्नेछन् । अझ त्यतिमात्र होईन अहिले केही स्थानमा मात्र परम्परागत रुपमा होली खेल्ने गरीन्छ, जसको एउटा राम्रो उदाहरण हो पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा परम्परागत शैलीमा परम्परागत फागू गीत गाएर फागू खेल्ने प्रचलनको रक्षा गर्दै आईरहेका छन् केही पाल्पाली अग्रजहरु । पाल्पामा फागू खेल्ने प्रचलन अग्रजहरुले जोगाएको भएपनि केही युवाबाहेक अरु युवापुस्ताले भने त्यसमा खासै चासो दिएको देखिदैन । अझ संगीत र बाजागाजाको जानकारी हुनु त पाताल र सगरको फरक थाहा हुनु जस्तै भएको छ । लगभग केही जिल्लामा त फागू पूर्णिमा होलीमा रुपान्तरण भईसकेको छ । अस्वस्थकर रङ दल्यो, विदेशी गीत बजायो उफ्रियो ।


यसरी हाम्रा संस्कृतिमा विकृति बढ्दै गएका छन् । आफ्नो परम्परा, मौलिकता, रितिरिवाज त्यागेर हामीले गरीरहेका अनावश्यक परिवर्तनहरु वास्तवमै राम्रो पक्ष होईन । विदेशी संस्कृति र रितिरिवाजमा रुचि राख्नु गलत होईन, तर आफ्नो संस्कृतिको नाश गर्नु पक्कै गलत हो । विदेशी चलनचल्तीको जानकारी लिएपनि हामीले आफ्नो मौलिकता त्याग्नु हुँदैन । आफ्नो पहिचान, अस्तित्व त्याग्नु हँुदैन् । स्वदेशी संस्कृतिको अपमान गर्नुहुँदैन् । आज हामीले मौलिक परम्परा र संस्कृति भुल्दै गर्दा भोली हाम्रो परिचय पनि नाश हुने अवस्था आउन सक्छ । किनकी हामी नेपालीहरुको अस्तित्व, परिचय हाम्रा कला, संस्कृति, रितिरिवाज, परम्परासंग जोडिएका छन् । जब तिनै रहने छैनन् भने हाम्रो परीचय कसरी रहला ? हाम्रो अस्तित्व के होला ? हामीले विगतका कुप्रथा मेटाउने हो न कि हाम्रा कला, परम्परा, संस्कार, सभ्यता र संस्कृति । पलभरमै आफ्नो संस्कृति र परम्परा भुलेर खोक्रो आधुनिकतातर्फ बढ्नु वास्तवमै लज्जास्पद कुरा हो ।

यसमा सम्बन्धित निकाय लगायत सम्पूर्ण खोक्रोपन प्रवेशमा रवाफ झारीरहेकाहरुको तथा सम्पूर्ण नेपालीहरुको ध्यान जानु आवश्यक छ । हाम्रा मौलिकता, संस्कृति र चलनचल्तीको रक्षा गर्नूृ हामी सबै नेपालीहरुको साझा दायित्व हो । सबै दत्तचित्त भई संस्कृतिको रक्षामा जुट्नुपर्छ । 

 

(लेखक देवदह टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन्)