Devdaha Tv | बिचार/ब्लग
चैत्र १८ | 2023 Apr 01
Flash News

जब इन्टरनेट र विद्युत हुँदैन ।

7 months ago
जब-इन्टरनेट-र-विद्युत-हुँदैन-।

मिना गैरे । आज फेरी नेट चलेको छैन्, कस्तो कस्तो नरमाईलो लागिरहेको छ । अब अरुसंग पनि यो घटना मिल्न जान्छ भने त्यो एउटा संयोगमात्र हुनेछ । खै किन हो कुन्नि जब जब नेट चल्दैन् तबतब फूर्सदिलो भएजस्तो लाग्ने गर्छ । यो चाँही पक्कै होईन की फुर्सद भएजस्तो लाग्यो भन्दैमा म फूर्सदिलो नै छु, म काम नभएपनि व्यस्त नै छु । किनकी मेरो हातमा मोवाईल छ र म मोवाईलमा अफलाईन भिडियो बनाउँदै र हेर्दै आफ्नो समय व्यतित गरिरहेछु । 

कस्तो अचम्म है, कुनै समय मोवाईल, ईन्टरनेटको पहुँच नहुँदा पनि समय व्यतित भईरहेथ्यो र सबै ईष्टमित्र, साथीभाई, नातागोता टाढा भएपनि नजिकै भएको आभाष हुन्थ्यो । सायद दुरीभन्दा सोँच र विचारले फरक पार्ने रहेछ किनभने आज नयाँ नयाँ उपकरण र ईन्टरनेटको विकास भएपनि मानिसहरुबिचको दुरी भने विस्तारै बढ्दै गईरहेको छ । नजिकै भएपनि सबै व्यस्त त्यो पनि विना कारण । 


जब म कसैले नजिकमै कुृरा गर्दा पनि मोवाईलमै ध्यान दिएर अँ र हँ मात्र भनेको सुन्छु, मलाई त्यतिबेला फस्ट ईएरको अनिवार्य अंग्रेजीमा पढेको एउटा रमाईलो कथाको याद आउने गर्छ । द रिच्ड स्टोन् नामको उक्त कथा क्रिस भान अल्सवर्गले लेखेका हुन् । उनले यस कथामा समाजको त्यस्तो वास्तविकता दर्शाएका छन् कि सबैलाई सुन्दा अचम्म र रमाईलो तर बुझ्दा तितो लाग्न सक्छ । एउटा जादुमय पत्थर जब रिता अन्ना नामक समुद्री जहाजमा यात्रारत समूहले भेट्छन्, तव त्यो आफूसँगै जहाजमा लिएर हिड्छन् । पछि त्यो पत्थरको जादुमय किरणबाट उक्त जहाजका क्यापटेनमात्र बाँकी रहन्छन् अरु सबै कपाल भएका बाँदरहरुमा परिणत हुन्छन् । क्याप्टेनले जति नै प्रयास गरेपनि त्यो पत्थरको चंगुलबाट अरुलाई जोगाउन विफल भईरहन्छन् । परिणामस्वरुप जहाजको रेखदेखदेखि लिएर सम्पूर्ण कार्य क्याप्टेन एक्लैले गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । बाँकी सबै त्यस पत्थरको जादुमय किरणमा मन्त्रमुग्ध हुन पुग्छन् तर अन्त्यमा क्याप्टेनले जहाज बचाउन नसकेपनि सबै मानिसहरुलाई बचाउन सफल हुन्छन् । उक्त कथाले त्यतिबेलाको टेलिभिजनको सन्दर्भ लाई जोड दिएको थियो । अहिलेको समयमा मोवाईल, भर्चुअल माध्यम र ईन्टरनेटको प्रयोग र अवस्थालाई उक्त कथाले चित्रण गरीरहेको छ । 

यहाँ वयस्क, बालक, युवापुस्ता सबै सामाजिक सञ्जाल र उपकरणहरुमा व्यस्त छन् । उनीहरुमध्ये केहीले काम गरेपनि अधिकांशले भने समय व्यतित मात्र गरिरहेका छन् । जसरी एउटा पत्थरको किरणले मान्छेहरु मन्त्रमुग्ध भएका थिए, त्यसरी नै अहिले मानिसहरु मन्त्रमुग्ध भएका छन् । बालबच्चालाई नै हेर्ने हो भने मोवाईल चलाउँदा उनीहरुलाई आफ्ना अभिभावक समेत चाँहिदैनन् । अभिभावकले पनि केटाकेटी भुलाउने र फकाउने माध्यमका रुपमा मोवाईल, ईन्टरनेट जस्ता माध्यमहरु प्रयोग गरिरहेका छन् । प्रमुखतः अभिभावकले यस्तो गर्दा मोवाईलका साईड ईफेक्ट पनि प्रत्यक्ष रुपमा देखा परेका छन् । बालबालिकामा मात्र नभई किशोरकिशोरी र युवापुस्तामा पनि यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । रिसाउने, एक्लै बस्न रुचाउने, नेत्र समस्या, नपढ्ने जस्ता समस्या । 

हुन त अरुको के कुरा गर्नु म आँफै पनि ईन्टरनेट चलेको समयमा मोवाईल चलाउन लागेँ भने भोक लागेको पनि थाहा पाउँदिन । अब नेट नचलेका बेलामा त झन यस्तो लाग्ने गर्छ कि मानौँ कुनै अदृश्य चिज आएर घाटी रेटिरहेको छ । म चाहन त नचलाऔँ भन्छु तर जुवाडेले जुवा नखेल्न सुझाव दिएजस्तो गरी म पनि अरुलाई सुझाव मात्र दिने गर्छु । व्यवहारमा लागू गर्नु त परैको कुरा । अझ एकैपटक लाईन र नेट जानुपर्छ, तब त यस्तो छटपटाहट हुने गर्छकी मानौँ एक हप्तादेखि खाना र पानी देखेको छैन् । 

सानो हुँदा स्कुल जाने बेलामा आमाबुवाले जहिले पनि नचिनेको मान्छेले दिएको केही नखानु है भन्नुहुन्थ्यो । किन भनेर सोध्दा मोहनी लगाएर लैजान्छन् भन्नुहुन्थ्यो । तर अहिले आएर थाहा भयो कसैले अपहरण गर्छ कि भन्ने डरले त्यस्तो भन्नुहुँदो रहेछ । यहाँ वास्तवमा मोहनी लगाउने त खाने कुराले नभई मोवाईल लगायतका उपकरण र ईन्टरनेटले रहेछ, मन्त्रमुग्ध बनाईहाल्ने । हातमा घडी भएपनि समय हेर्न मोवाईल नै हेर्नुपर्ने, समय हेर्न निकालेको मोवाईल ३ घण्टासम्म चलाउँदा पनि पत्तै नपाईने । बेलाबेलामा त हासो उठ्छ , अनि बेलाबेलामा आफैसँग भन्ने गर्छु, भो अब त मोवाईल चलाउने होईन । तर छेपाराको घर बनाउने चर्चित उखानजस्तै सोँच र गफ मात्र हुने गर्छ । छेपारोको उखान प्राय केहीलाई थाहा नहुन पनि सक्छ । सानो छँदा हजुरआमाले भन्नुहुन्थ्यो, ‘जब रात पर्छ र चिसो हुन थाल्छ, चिसोमा कठ्याङ्ग्रिदै गरेको छेपारोले भोली बिहान भएपछि घर बनाउँछु भन्छ तर बिहान हुँदा लागेको मिठो घामसँगै छेपारोले आफ्नो प्रण र योजना भुल्छ र घाम ताप्दै दिन बिताउँछ; अनि फेरी जब साँझ पर्छ र चिसो हुन थाल्छ छेपारोले फेरि भोली घर बनाउने योजना बनाउँछ ।” यस्तै गरी मोवाईल र ईन्टरनेटको अनावश्यक रुपमा प्रयोग गर्दिन भन्ने मेरा योजनाहरु पनि छेपारोको घर बनाउने प्रणजस्तै योजनामा सिमीत बनिदिन्छन् । अब यहाँ म पात्रको प्रयोग गरेर सबैको मजाक बनाएको भन्ने पनि पक्कै निस्कीन्छन् तर मैले कसैको मजाक बनाएको नभई एउटा वास्तविक विषयको चर्चा गर्दै छु । 

परीवारकै सदस्यहरु पनि एउटै घरमा भएर पनि सात समुद्र पारी मन पुराईरहेका छन् । नजिक भएर पनि घटेको आत्मियपन, सामिप्यता, साथ, माया । लाईन र नेट नहुँदा मात्र साथी खोज्ने बालकहरु, अभिभावक, घरपरीवारदेखि टाढिएर ईन्टरनेटमा समय व्यतित गरिरहेको युवापुस्ता र सबै मान्छेहरु । जब नेट र लाईन हुदैँन तबमात्र बाहिरी संसार देख्ने आधुनिक आँखाहरु बढिरहेका छन् र अझै बढ्नेछन् । 


वास्तवमा हामी आफैलाई बिर्सीएर भर्चुअल माध्यममा यसरी हराईरहेका छौँ कि, कुनै समय लाईट बालेर आफैलाई खोज्नुपर्ने स्थितीको सीर्जना नहोला भन्न सकिदैन । हामीलाई अकाउन्ट पढाउने शिक्षकले कुनै समय एउटा रमाईलो प्रसंग सुनाउँदै भन्नुहुन्थ्यो, मेरा एकजना साथीले मोवाईल हरायो भन्दै मोवाईल कै लाईट बालेर खोज्दै हुनुहुन्थ्यो । यो कुरा सुन्दा कक्षाकोठाभर हासो छाएको थियो । हामी यसरी हराईरहेका छौँ कि नजिकै भएर पनि कसैले कसैलाई भेट्टाउन सकेका छैनौँ । नजिकै भएर पनि बढिरहेको दुरी, उफ्फ आखाँ उघार्नुपर्ने बेला पट्टी लगाईरहेका छन् सबै । 


(लेखक देवदह टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन्)