भाद्र २१ । ईजरायलले प्लेस्टिनी मूलकी अमेरीकी पत्रकार शिरीन अबू अकलेहको आफ्नो सैनिकको गल्तीले हत्या गरेको स्वीकार गरेको छ । अकलेहको मृत्युको करिब चार महिनापछि इजरायलले एक रिपोर्टमा आफ्नो सैनिकमध्ये एकको गल्तीले उनको हत्या गरेको स्वीकार गरेको छ ।
इजरायलको सुरक्षा बलले आन्तरिक जाँच पुरा भएपछि आफ्नो सैनिक जवानकोे गल्तीले अकलेहमाथि गोली प्रहार गरेको स्वीकार गर्दै ती सैनिकलाई अकलेह पत्रकार भएको जानकारी नभएको दाबी गरेको छ । हत्या स्वीकार गरेपनि सेनाका शीर्ष कानुनी अधिकारीहरूले हमलामा सामेल सैनिकविरुद्ध आपराधिक जाँच सुरु गर्न भने अस्वीकार गरेका छन् ।
इजरायलले लगातार सत्यलाई लुकाउन र हत्याको जिम्मेवारी लिनबाट सधैँ बच्न खोजिरहेको अकलेहको परिवारले बताउँदै आईरहेको छ ।
गत मे महिनामा वेस्ट बैंकमा छापा मारेको घटनाको रिपोर्टिङ गर्न पुगेकी अल–जजीराकी पत्रकार अकलेहमाथि गोली प्रहार भएको थियो । त्यही दौरान इजरायली सैनिक र प्यालेस्टिाइनका चरमपन्थीबीच झडप सुरु भएको हमलामा अकलेहलाई गोली लागेको थियो । प्रत्यक्षदर्शी र प्यालेस्टाइनका अधिकारीहरूले अकलेहलाई इजरायली सैनिकले गोली प्रहार गरेको दाबी गरेका थिए । उक्त दाबीलाई संयुक्त राष्ट्र संघ र अलग–अलग जाँच एजेन्जसीले समर्थन गरेका थिए ।