Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

चुनाव चिन्हका विषयमा भ्रम सिर्जना नगर्नु : निर्वाचन आयोग

2 months ago
चुनाव-चिन्हका-विषयमा-भ्रम-सिर्जना-नगर्नु-:-निर्वाचन-आयोग

मिना गैरे । असोज ८ । निर्वाचन आयोगले निर्वाचन चिन्हका सम्बन्धमा भ्रम सिर्जना नगर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन चिन्हका सम्बन्धमा समाजमा भ्रम सिर्जना नगर्न निर्देशन दिएको हो । हाम्रो नेपाली पार्टीले राजनैतिक दलहरुलाई प्रदान गरेको चुनाव चिन्ह स्वतन्त्रहरुको साझा तथा वैकल्पिक चिन्ह भनेर जनमानसमा भ्रम सिर्जना गरेकोप्रति आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

आयोगले दललाई प्रदान गरेको निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको निर्वाचन चिन्हको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने स्पष्ट पारेको छ । आयोगले स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उममेदवार भनी प्रचार गर्नु निर्वाचनको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त विपरीत रहेको जनाएको छ । आयोगले सिद्धान्त विपरीतका कार्यहरुले भ्रम र अन्यौलता सिर्जना गर्ने भन्दै भ्रामक कुराहरु नफैलाउन र सामाजिक सञ्जालमा पोष्ट गरीएका भ्रमात्मक सामाग्रीहरु हटाउन निर्देशन दिएको हो । 

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीलाई लौरोलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेकोप्रति स्पष्टिकरण समेत माग गरेको छ । त्यस्तै पार्टी हुँदाहुँदै पनि स्वतन्त्र उम्मेदवार भनि प्रचारप्रसार गर्न मिल्ने नमिल्ने स्पष्ट पार्न पनि आयोगले निर्देशन दिएको छ । भ्रमात्मक तवरले गरीएको प्रचारप्रसार कसरी कुन कानुनले प्रदान गरेको हो र दललाई कारबाही नगर्नको कारण माग गर्दै आयोगले ३ दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।