Devdaha Tv | बिचार/ब्लग
चैत्र १८ | 2023 Apr 01
Flash News

राष्ट्रवादभित्र लुकेको राजनीतिक ढोङ !

2 years ago
राष्ट्रवादभित्र-लुकेको-राजनीतिक-ढोङ-!

​​–जीवन पराजुली     

ल्याटिन भाषाको ‘नेटियो’बाट ‘नेसन’को उत्पत्ति भएको हो । जसको अर्थ जन्मको आधारमा वा कुन जराबाट पलाएको भन्ने हुन्छ

सामान्यतया राष्ट्र भन्नाले ऐतिहासिक दृष्टिले स्थापित जनसमुदाय सहितको थलो वा देशलाई बुझिन्छ । शाब्दिक रुपमा सुसंस्कृत र सुशासित देश नै राष्ट्रका रुपमा परिभाषित हुन्छ ।

आधुनिक हिसाबमा ‘राष्ट्र’लाई एउटा त्यस्तो जनसमूहका रुपमा परिभाषित गर्न सकिन्छ, जो निश्चित भौगोलिक सीमाभित्रको एउटै देशमा समान परम्परा, समान हित र समान भावनाले बाँधिएको हुन्छ र जसमा एकताबद्घ हुने उत्सुकता र समान महत्त्वकांक्षा हुन्छ ।

नेपालको संविधानको धारा ३ अनुसार ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’

राष्ट्रसँगै आउने अर्को विषय हो राष्ट्रियता । राष्ट्रियताको प्रारम्भ १७ औं शताब्दीमा युरोपमा चलेको ३० वर्षे युद्धपछि भएको जर्मनको बेस्ट फेलिंस सन्धि १६४८ लाई नै राष्ट्रियताको आधुनिक विकासको आधार मानिन्छ । नेपालको इतिहासलाई पल्टाएर हेर्ने हो भने नेपालमा अंग्रेज युद्धसँगै यसको विकास भएको पाइन्छ ।

राष्ट्रियता आफैंमा व्यक्ति र राष्ट्रलाई जोड्ने भावनात्मक विषय हो, जसको कुनै परिधि हुँदैन । यो राष्ट्रवासी बीचको कुनै कार्यक्रम वा योजनासँग गाँसिएको हुन्छ ।

नेपालको राष्ट्रियता वास्तविक राष्ट्रियताको सट्टा शासन वर्गको लादिएको इच्छा नै राष्ट्रियताको रुपमा परिभाषित हुँदा र एकनिष्ठ राष्ट्रवादको पृष्ठपोषण गरिँदा कमजोर भएको राष्ट्रवादलाई अगाडि बढाएर मुलुकको राष्ट्रियतालाई पुनः परिभाषित गर्नुपर्ने भएको छ । राष्ट्रियता सामाजिक एकताको रूप हो ।

राष्ट्रियताको लागि एउटै भाषा हुनु जरुरी छ । यद्यपि इंग्ल्यान्ड, आयरल्यान्ड र अमेरिकाले एउटै भाषा बोले पनि उनीहरूको राष्ट्रियता एउटै हुन नसक्नुको कारण हो, उनीहरूमा विकसीत मनोविज्ञान । यसैले राष्ट्रियता मनोविज्ञानको विषय पनि हो, जसले राष्ट्रिय चरित्र वा संस्कृतिको निर्माण गर्दछ ।

नेपालको राष्ट्रियताबारे बेलाबखत बहस चरममा पुग्ने गरेको पाइन्छ । पछिल्लोपटक भारतले आफ्नो नक्सामा नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ प्रशासनिक नक्सा सार्वजनिक गर्नु र भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–चीन जोड्ने कैलाश मानसरोवर सडक उद्घाटन गर्नुले नेपालको राष्ट्रियतामाथि गम्भीर आघात परेको अवस्थामा नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनताबारे नयाँ बहस शुरू भएको छ ।

पछिल्लोपटक नेपालले आफ्नो नयाँ प्रशासनिक नक्सा सार्वजनिक गर्दा होस् वा संविधान संशोधन गर्दा होस् सडकदेखि सदनसम्म राष्ट्रियताले प्रशय पाएको थियो । नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको विषय सर्वत्र चासो र चिन्ताको विषय भएको छ । २०७२ सालको विनाशकारी महाभूकम्प र लगत्तै भारतले गरेको अघोषित नाकाबन्दीको त्यस समयलाई सामना गर्न नेपालमा देखिएको राष्ट्रिय एकताले राष्ट्रियतालाई प्रतिनिधित्व गर्दछ । नेपालमा  राष्ट्रियताकै विषयलाई उठान गरेर गरिएका आन्दोलनहरू सफल भएका छन् ।

बाह्य शक्तिको आक्रमण विरुद्धको राष्ट्रिय स्वाधिनता र एकताको दृढ भावना नै राष्ट्रियताको सैद्धान्तिक आधार हो । राष्ट्रियता विशेषतः आन्तरिक र बाह्य हुन्छ । यी दुवै एकअर्काका पूरक हुन् । यहाँ एउटा कमजोर हुन पुग्यो भने अर्को स्वतः कमजोर हुन्छ ।

राष्ट्रियताबारे अवधारणा व्यक्त गर्दै बीपी कोइराला भन्छन्, ‘देश भनेको त्यो भूगोल होइन, त्यो माटो होइन । त्यो यथार्थमा जनता हो । जुन कुराले जनताको हित हुन्छ, त्यही कुरो देश हितको कुरो हो । जनताको अधिकार देशको अधिकार हो ।’

कम्युनिस्ट नेता पुष्पलालले भनेका छन्, ‘केही हदसम्म भारतमा ब्रिटिश सरकारको नीतिले गर्दा पनि २ देशबीचको सम्बन्धमा खलल पैदा भएको हो । ब्रिटिशहरूले नेपाललाई संरक्षित राज्यको रुपमा मान्दथे तर भारतेली नेताहरूले यसको अझ एक कदम पर पुगे ।’

युवा नेता गगन थापा भन्छन्, ‘राष्ट्रका संवेदनशील मुद्दामा सिंगो नेपाल एकजुट हुन्छ । त्यस्तो समस्याको समाधानका लागि गरिने सामूहिक प्रयत्नका क्रममा जुन सर्वव्यापी एकताको जनभाव उत्पन्न हुन्छ, सायद त्यही नै वास्तविक राष्ट्रियता हो ।’

राजेन्द्र महतो भन्छन्, ‘राष्ट्रियता भनेको सम्पूर्ण नेपाली जनताको राष्ट्रियता हो । एउटा वर्ग, जात, समुदाय, क्षेत्रको राष्ट्रियता हुनै सक्दैन । यदि त्यस्तो राष्ट्रियता भयो भने त्यो पंगु राष्ट्रियता हो, जुन काम लाग्दैन ।’

राष्ट्रियता आफैंमा गतिशील हुन्छ । समय अनुसार यसको रूप बदलिन्छ । एकअर्कालाई राष्ट्रियता विरोधी भन्दै आरोप–प्रत्यारोप गर्दा यसलाई सिर्जनात्मक बहसभन्दा पनि उत्तेजनाको रुपमा मात्र प्रर्दशन हुँदै जानु घातक हुन सक्छ । नेपालको सत्तामा धेरै रूप फेरिए र केही आइरहे तर पनि राष्ट्रियताले मूर्त रूप लिन सकेन । राष्ट्रियतालाई मूल मुद्दा बनाएर जनयुद्ध गरे पनि पूर्व माओवादीले समेत राष्ट्रियताबारे ठोस अवधारणा प्रस्तुत गर्न सकेको छैन ।

अंग्रेज, भारत र नेपालबीच भएकी त्रिपक्षीय गोरखा भर्ती केन्द्र सन्धि (१६ फागुन २००७), नेपाल–भारत कोशी सम्झौता (१२ वैशाख २०११), गण्डक सम्झौता (१९ मंसिर २०१६) ले नेपालको ऐतिहासिक साखलाई जोगाउन सकेन र नेपाललाई अर्धऔपनिवेशिक अवस्थामा पुर्‍यायो ।

राष्ट्रियताका विविध तहलाई तिनको हैसियत र फैलावट अनुरुप प्राथमिकीकरण गर्ने र त्यही अनुरूप अधिकारहरू विकेन्द्रित गर्ने सम्भावनाको खोजी गरिनुपर्छ । पहिचानको खोजी गर्दा राष्ट्रभक्ति बलियो बनाउने रणनीति हुनुपर्छ ।

राष्ट्र, राष्ट्रियतासँगै अब चर्चा गरौं राष्ट्रवादको । नेपाली बृहत् शब्दकोश अनुसार ‘आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताको विशेष भक्ति भावना राष्ट्रवाद हो ।’ यो समावेशी परिकल्पना, सार्वभौमसत्ता सम्पन्न नागरिक भन्ने मान्यताका आधारमा स्थापित राजनीतिक सिद्वान्तमा आधारित हुन्छ । राष्ट्रप्रतिको निष्ठा, समर्पण, इमान र कर्तव्यबाट विमुख नभई राष्ट्रलाई माथि राखि राष्ट्रिय हित, स्वतन्त्रता र सीमाको रक्षा गर्नु नै राष्ट्रवाद हो । जसले जनताको स्वामित्व र पहिचानलाई मान्यता दिन्छ र पूर्ण लोकतन्त्रको अभ्यास गर्छ ।

राष्ट्रवाद र राष्ट्रियता टोपीमा पनि हुँदैन, धोतीमा पनि हुँदैन र भाषामा मात्रै पनि हुदैन । भित्तामा कोरिने नारा, संसदमा गरिने भाषण होइन, आत्मामा अंकित हुने जीवन्त चेतना हो राष्ट्रवाद । आज निर्माण भएको राष्ट्रवादी सोचले नेपालले कुनै पनि छिमेकी मुलुकको हस्तक्षेप स्वीकार नगर्ने गरी राष्ट्रिय स्वाभिमान निर्माण गर्नुपर्छ भन्ने मान्यतामा विकास भएको पाइन्छ ।

भारतको शृंगारिक विरोध गर्नु नै मुख्यतः नेपाली राजनीतिको राष्ट्रवाद र राष्ट्रियताको वस्त्र थियो, जुन बेलाबखत उदांगो हुन्छ । भारतको विरोध गर्नुलाई मात्र राष्ट्रवाद भन्न मिल्दैन । राष्ट्रवादलाई शासनको बैशाखी बनाएर, भयवादमा फ्यूजन गरेर शासन धेरैले चलाए ।

महामारीको समयलाई अर्थआर्जन गर्न उपयुक्त समय मान्ने माननीयज्यूहरूबाट राष्ट्रवादको कल्पना गर्नु व्यर्थ हुनेछ । जनता क्वारेन्टीनमा जीवनजल खान नपाएर मृत्युवरण गर्नुपरेको छ तर त्यही समयमा काठमाडौंमा सरकारी कोष दूरुपयोग गर्दै  रात्रिभोजको आयोजना गर्नुपरेको छ । क्वारेन्टीनमा एउटा म्याट नपाएर बिरामी चिसो भूँइमा सुत्दै गर्दा सम्माननीय राष्ट्रपतिलाई करोडौंको कार्पेट फेर्नुपरेको छ । सांसदहरू संसदमा सामाजिक सञ्जाल चलाएर र निदाएरै तलबभत्ता लिन्छन् र करोडौंको उपचार खर्च लिन्छन् । आफ्नो सीमा मिचिँदै गर्दा दूतावासमार्फत पत्र कुरिरहन्छन् । । के यही हो राष्ट्रवाद ? के यही हो राष्ट्रप्रतिको बफादारिता ?

आफ्नो सीमा भारतले मिच्दै गर्दा सरकार गुहार्दा सरकारले नसुनेपछि आफैं सीमा रक्षाका लागि उत्रिएका सप्तरीका तिलाठी वासीलाई सोध्नुस् सच्चा राष्ट्रवाद के हो भनेर । सोध्नुस् तिलाठीका नायक नेपाल आमाका सपूत देवनारायण यादवको आत्मालाई सच्चा राष्ट्रवाद के हो भनेर ।

राष्ट्रियता र राष्ट्रवादलाई मूल मुद्दा बनाएर जनयुद्ध गरेको पूर्व माओवादीले राष्ट्रियताको सवालमा ठोस अवधारणा प्रस्तुत गर्न सकेको छैन । विस्तारवादी भारतविरुद्ध सुरुङ युद्ध लड्ने भन्ने तत्कालीन नेता स्व. पोष्टबहादुर बोगटीले सन् २०१२ मा ऊर्जामन्त्रीको रूपमा भारत भ्रमणका बेलामा पहिले नै सम्झौता गरेर पनि कार्यान्वयनमा नल्याइएको कोशी उच्च बाँध, माहाकाली, अपर कर्णालीलाई कार्यान्वयन गर्ने सहमति गरेर विगतको राष्ट्रघातमा आफूलाई जोडेका थिए । गण्डक सम्झौतामा बीपी, बिप्पा सम्झौतामा डा. बाबुराम भट्टराई, टनकपुर सम्झौतामा गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाल आउने गर्छन् । पूर्व एमालेले बेला मौकामा राष्ट्रियता र राष्ट्रवादको नारा लगाए पनि माहाकाली सन्धि (४ असोज २०५३) बाट उसको राष्ट्रवादको धारणा उदांगो भएको पाइन्छ । कांग्रेसमा राष्ट्रियता नारामै सीमित भएको छ । राष्ट्रियता र राष्ट्रवाद सभा, सेमिनार, गोष्ठी र प्रशिक्षण कार्यक्रममा मात्र सीमित भएका छन् ।

भारतले गर्ने हस्तक्षेपका कारण नेपालको भारतसँग प्रगाढ सम्बन्ध छैन तर पनि हामी प्रगाढ सम्बन्ध मान्छौं, जसले गर्दा राष्ट्रियता खुम्चेको छ । २ ढुंगाबीचको तरुल सिद्धान्तको घुम्टोभित्र लुकेको राष्ट्रवाद भावना यथार्थ कम र तुष्टीकरण बढी हो । यद्यपि पछिल्लो समय निशाना छाप परिवर्तन गरी लिपुलेक र लिम्पियाधुरा समेटेको नेपालको नक्सा सार्वजनिक गर्नका लागि भएको राजनीतिक दलहरूबीचको एकता र समाजको समर्थनले नेपालको सीमा अतिक्रमणमा सम्पूर्ण नेपालीहरू एकीकृत हुन्छन् भन्ने साबित भएको छ ।

आशा गरौं, यस किसिमको राष्ट्रवादले छिट्टै नै नेपाली भूमिबाट भारतीय सेनालाई फिर्ता गर्ने, नेपालको अतिक्रमित करीब ९६ हजार बिघा जमिन फिर्ता गर्दै, असमान सन्धिको खारेजी गर्दै, नेपालको सीमाको वैज्ञानिक सीमांकन गरी खुला सीमा नियमन गर्दै लोकतान्त्रिक गणतन्त्र, सार्वभौमिकता सम्पन्न नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । आम नागरिक पनि आन्तरिक रुपमा सचेत भएर आफ्नो मौलिकतालाई सम्बद्र्धन र पृष्ठपोषण गरी राष्ट्रियताको यथार्थीकरण गर्न आवश्यक छ ।

गरीब र पराश्रित मुलुकले जतिसुकै राष्ट्रवादको नारा दिए पनि स्वतन्त्र हुन नसक्ने हुँदा विचारको संघर्ष समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा स्वतन्त्र अर्थतन्त्रको विकास र विस्तारमार्फत व्यापारलाई विविधीकरण गरी आफ्नो सामर्थ्य विकास गरी आफूलाई सबल र स्वतन्त्र रुपमा प्रस्तुत गर्न सकेमा नेपालमा राष्ट्रियता र राष्ट्रवाद बलियो हुने निश्चित छ । देशका सबै क्षेत्र र समुदायका फुटेका मनहरू जुटे मात्र विकास र समृद्धिको यात्रा शुरू हुन्छ । सबै क्षेत्र र पक्षको एकता र सम्मानबाट मात्रै हाम्रो राष्ट्रियता र राष्ट्रवाद चिरस्थायी बन्न सक्छ ।

(रुपन्देहीको देवदह निवासी लेखक राजनीतिशास्त्रका विद्यार्थी हुन् ।)