Devdaha Tv | समाचार
मंसिर ११ | 2022 Nov 27

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईयो : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्धारा शुभकामनम व्यक्त

1 month ago
आज-अन्तर्राष्ट्रिय-ज्येष्ठ-नागरिक-दिवस-मनाईयो-:-राष्ट्रपति-भण्डारी-र-प्रधानमन्त्री-देउवाद्धारा-शुभकामनम-व्यक्त

असोज १५ । आज अक्टोबर १ तारिख अर्थात, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर यो दिवस मनाउने गरिन्छ । 

नेपालमा पनि गएको डेढ दशकदेखि यो दिवस मनाउन थालिएको हो । यस वर्ष ‘परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘ज्येष्ठ नागरिकको उत्थानशीलता ः बदलिँदो विश्वको लागि अपरिहार्यता’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । 

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मान पूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । ज्येष्ठ नागरिक आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाहरूको व्यवस्था गरेको जनाउँदै ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूलाई थप विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने ‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्नुभएको छ । 

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत विभिन्न ज्ञान, सिप र अनुभव सँगाल्नुभएका सम्पूर्ण ज्येष्ठ नागरिकमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ । उहाँहरूलाई पहिलो प्राथमिकता दिइ उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।