मिना गैरे । एउटा चिरपरिचित नाम, अन्तर्राष्ट्रिय स्तरमा नै ख्याती पुर्याएको, नेपाल र नेपालीलाइ विश्वमाझ चिनाएको एउटा नाम, सन्दिप लामिछाने । नेपाली राष्ट्रिय क्रिकेटका पुर्वकप्तान लामिछाने अहिले सामाजिक सन्जाल, सबै सञ्चारमाध्यमका प्रमुख समाचारमा छाएका छन् । कारण हो, नाबालिका बलात्कार आरोप र पक्राउ पर्नु ।
प्रहरीले नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेलाई यही बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पक्राउ गरेको थियो । यससँगै सामाजिक सञ्जाल पनि पछिल्ला दिनहरुमा यही विषयले तातेको देख्न सकिन्छ । नेता कार्यकर्तालाई पक्राउ गर्दा हतकडी नलाईनु र एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीको कसुर सिद्ध नभईकन हतकडी लगाईनुमाथि मानिसहरु टिकाटिप्पणी गरीरहेका छन् । हुन पनि राजनैतिक शक्ति र अहमताका कारण राजनैतिक व्यक्तिहरु पक्राउ परेपनि न कारबाही हुन्छ न हतकडी लगाएर पक्राउ गरीन्छ । नेपाली क्रिकेट प्रेमीहरुले सामाजिक सञ्जालमा एउटा अन्तर्राष्ट्रिय खेलाडीलाई अपराध सिद्ध नभई हतकडी लगाईनु र राजनैतिक दलका व्यक्तिहरुलाई विगतमा हतकडी नलगाउनु कानुनको कमजोरी रहेको औल्याएका छन् । हुन पनि अपराध सिद्ध नभई कसैलाई अपराधी घोषित गर्नु कानुनसम्मत होईन् । अपराध सिद्ध नभई नाम सार्वजनिक गर्नुको पनि कु्नै औचित्य नरहेको सामाजिक सञ्जालमा टिप्पणीहरु छ्यापछ्याप्ती देख्न सकिन्छ । केहीले त वादी र प्रतिवादी दुवैको नाम गोप्य नराख्नु प्रहरीको कमजोरी रहेको ओल्याएका छन् । हुन पनि वादी र प्रतिवादी दुवैको परिचय गोप्य नराख्दा घटना यसरी सार्वजनिक र सामाजिक सञ्जालमा भाईरल भएका छन् की जसरी नेकपा एमालेका अध्यक्ष केपी ओलीका उखानटुक्का भाईरल हुन्छन् । अपराध नै सिद्ध नभई अपराधी भनेर घोषणा गर्नु पनि युक्तिसम्मत कुरा होईन् ।
नेपाली क्रिकेटका उदाउदा खेलाडी सन्दिप लामिछानेमाथि केही समयअघि नाबालिका बलात्कार आरोप लागेको थियो । उनीमाथि पीडीत युवतीले आफूलाई दिनभरी घुमाएर राति एक होटलमा लगि बलात्कार गरेको आरोपमा भदौ ५ गते राति काठमाण्डौको एक होटलमा ल्याएर जबरजस्ती गरेको आरोप लगाएकी थिईन् । कप्तान सन्दिप लामिछानेविरुद्ध नाबालिका बलात्कारका अभियोगमा भाद्र २१ गते महानगरीय प्रहरी परीसर टेकु काठमाडौँमा जाहेरी दर्ता भएको थियो । नेपाल क्रिकेट संघ क्यानले भदौ २३ गते लामिछानेमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपश्चात राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको थियो । त्यससँगै लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कालोसूचीमा राखेको थियो ।