कार्तिक १७ । रुपन्देहीमा बालिका बलात्कार गर्ने अपराधीहरु पक्राउ परेका छन् । बुधबार राति रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा नंं.२ गोफ्लापुर स्थित बाटोमा हिड्दै गरेका १५ र १६ बर्षीय किशोरीलाई ११÷१२ जनाको समूहले अपहरण गरी जंगल तथा खोलाको किनारमा लगी जवरजस्ती करणी गरेको थियो । अपराधीहरुले १५ वर्षीय किशोरीलाई देउराली सामुदायिक वनको जंगलमा र १६ वर्षीय किशोरीलाई गैडहवा गाउँपालिका वडा नंं. २ कुलिचौर स्थित कञ्चन खोलाको बगरमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी श्यामू अर्यालले जानकारी दिनुभयो ।
प्रहरीले १५ बर्षीय किशोरीलाई बलात्कार गर्नेहरु सैनामैना नगरपालिका १० का १८ वर्षीय बबि पाण्डे, सोही स्थानका २६ वर्षीय राम बहादुर बि.क. लगायतका थप ३ जनालाई पक्राउ गरेको छ । त्यस्तैगरी प्रहरीले १६ वर्षीय किशोरीलाइ बलात्कार गर्ने सैनामैना नगरपालिका ११ बनकट्टिका १९ वर्षीय पदम कार्की, गैडहवा गाउँपालिका वडा नं. ८ का १८ वर्षीय राहुल परियार लगायतका थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका प्रतिवादीहरुलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी श्यामू अर्यालले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय रुद्रपुर, सुर्यपुरा र सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरेको थियो ।