Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

कोलिय देवदह साकोसद्वारा आयोजित ७ दिने स्वास्थ्य सामाग्री उत्पादन तालिम सम्पन्न

2 days ago
कोलिय-देवदह-साकोसद्वारा-आयोजित-७-दिने-स्वास्थ्य-सामाग्री-उत्पादन-तालिम-सम्पन्न

मंसिर ८ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित ७ दिने स्वास्थ्य सामाग्री निर्माण तालिम सम्पन्न भएको छ । लघु उद्यम विकास परियोजना अन्तर्गत कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजना  र प्रदेश युवा परिषद लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा फिनेल, हार्पिक र कुलीन उत्पादन सम्बन्धि ७ दिने तालिम आयोजना गरिएको गरिएको थियो । तालिममा २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सहकारीले जनाएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले सहकारीले बचत ऋणको काम मात्र नगरेर शेयर सदस्यहरुको जीवनस्तर उकास्ने पक्षमा विभिन्न तालिम, गोष्ठी, सेमिनार लगायतका कार्यक्रम निरन्तर रुपमा गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले सहकारीले सानो सानो पुँजीलाई जम्मा गरेर व्यक्तिलाई उद्यमशील बनाउने दिशामा महत्वपूर्ण काम गरेको बताउनुभयो ।

प्रमुख खरेलले तालिम सञ्चालनमा ठूलो सीप तथा सामाग्रीको लगानी भएकाले तालिमबाट प्राप्त सिपलाई उत्पादनमा परिणत गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । उत्पादित सामाग्रीहरुलाई व्यवस्थीत रुपमा बजारीकरण गर्नका लागि स्थानीय तहले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले उद्पादनका लागि विशेष बजेटको व्यवस्थापन गरेको जानकारी गराउँदै कार्यबिधी बनाएर बित्तीय संस्थामार्फत न्यून ब्याजदरमा आर्थिक सहयोग उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी विश्वविद्यालय देवदहका डिन उकेशराज भुजुले उत्पादित सामाग्रीरुको नामाकरण तथा ब्राण्डिङ्ग गर्दा बजारमा चलिसकेका उस्तै उस्तै सामाग्रीको जस्तो नाम राख्नुभन्दा आफ्नै तरिकाले नयाँ नाम तथा ब्राण्ड निर्माण गर्नु उपयुक्त हुने धारणा राख्दै उत्पादित सामाग्रीहरुको बजार व्यवस्थापनका लागि आफ्नो विश्वविद्यालयले पनि त्यसको खपत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य सामाग्री निर्माण गर्दा प्रयोग गरिने रसायनहरुको प्रयोग गर्दा वातावरणीय तथा जैविक संरक्षणको मापदण्डलाई ख्याल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषदका केन्द्रिय सदस्य बाबुराम बञ्जाडेले पछिल्लो समय देश आर्थिक रुपमा धरासायी भएको अवस्थामा युवा परिषद तालिमबाट युवाहरुलाई उत्पादनमा जोड्ने  गरि अगाडि बढेको उल्लेख गर्दै, तालिम लिएका व्यक्तिहरुलाई उत्पादनमा लाग्न आग्रह गर्नुभयो । उहाँले उत्पादित स्वास्थ्य सामाग्रीको बजारिकरणमा समेत परिषदले विशेष भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै युवा परिषद लुम्बिनीका उपाध्यक्ष माधव बन्जाडेले सहकारीले स्वास्थ्य सामाग्री निर्माणजस्तो महत्वपूर्ण तालिम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि प्रदेश युवा परिषद युवाहरुलाई उद्यमशीलता मार्फत स्वरोजगार बनाउन हरेक सहकार्य गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पौडेलले सहकारीले बिगतदेखी नै निरन्तर रुपमा विभिन्न खाले तालिमहरु दिंदै आएको भएपनी स्वास्थ्य सामाग्री उत्पादन सम्बन्धि तालिम निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले स्थानीय तहबाटै अनुमति लिई यस्ता सामाग्री उत्पादन र बिक्रीवितरण गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्दै स्वास्थ्य सामाग्रीका उपभोक्ता सबै भएकाले बजारीकरणमा समस्या नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै प्रशिक्षक गिता पौडेलले सहकारीले आर्थिक गतिविधिका साथमा सदस्यहरुलाई उत्पादनमा जोड्नुपर्ने अवधारणा अनुरुप सहकारीले महत्वपूर्ण तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रभित्र उत्पादित सामाग्रीहरुको बजारिकरणका लागि सम्बन्धित स्थानीय तहले विषेश जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा प्रशिक्षार्थीहरु तिलोचन दाहाल र सीता पौडेलले तालिममा महत्वपूर्ण ज्ञान सिप प्राप्त भएको उल्लेख गर्दै सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्नु चुनौती रहेको बताउनुभयो । उहाँले पछिल्लो समय तालिम धेरै हुने तर तालिमपछि उत्पादनमा जोडिने दर न्यून रहेकाले आफू सकेसम्म व्यवहारिक रुपमा उत्पादनमा जोडिने प्रतिबद्धता व्यक्त गर्दै लगानी र बजारिकरण प्रमुख समस्या रहेको बताउनुभयो ।

कार्यक्रम सहकारीका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षता, सञ्चालक गोमा ज्ञावालीको स्वागत र सचीव कृष्णराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।