मंसिर १० । रुपन्देहीमा सवारी ज्यान मुद्धाका ९ वर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीले बुधबार सवारी ज्यान मुद्धाका विगत ९ वर्षदेखि फरार रहेका सैनामैना नगरपालिका ११ का ४० वर्षीय सिताराम थारुलाई पक्राउ गरेको हो ।
थारुलाई रुपन्देही जिल्ला अदालतको २०७० माघ ७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै ३ महिना कैद सजाय सुनाएको थियो । पक्राउ गरेलगत्तै प्रहरीले निजलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो । त्यसलगत्तै थारुलाई कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
थारुविरुद्ध डिलाराम घिमिरेले सवारी ज्यान मुद्धामा जाहेरी दिनु भएको थियो ।
त्यस्तैगरी रुपन्देहीमा सवारी ज्यान मुद्धाका ६ वर्षदेखि फरार रहेका प्रतिवादी मोहनलाल थारुलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । बुधबार ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी निरिक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले ६ वर्षदेखि फरार रहेका सैनामैना नगरपालिका ११ का ३३ वर्षीय हिरा भन्ने मोहनलाल थारुलाई पक्राउ गरेको हो ।
२०७३ सालमा सैनामैनाको बासगढीमा लापरबाही साथ सवारी चलाई मानिसको मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतले मोहनलाललाइ २०७३ फागून १७ गते गते दोषी ठहर गर्दै सवारी ज्यान मुद्दामा २ वर्ष कैद र रू.२००० रुपैया जरिवाना सजाय सुनाएको थियो । बुधबार निजलाई जिल्ला अदालत रुपन्देही पेश गरि सजाय कार्यान्वयनका लागि कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।