पौष १५ । ब्राजिलका विश्वविख्यात फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ । महान फुटबलर एड्सन आरान्तेस दो नासिमेन्तो पेलेको बिहीबार राति उपचारका क्रममा साओ पाउलोको अल्बर्ट अस्पतालमा निधन भएको हो ।
पेले १ महिनाअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उहाँ मृगौला र प्रोस्टेट रोगबाट ग्रसित हुनुहुन्थ्यो । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उहाँको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ ।
पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका थिए ।
पेलेले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।