पौष १८ । नेपाल कम्यूनिष्ट पार्टी एमाले क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन परिचालन समितिको समिक्षा बैठक सम्पन्न भएको छ । गत मंसीर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समिक्षा बैठक सम्पन्न भएको हो । निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव एवं प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सचिव विश्वकर्माले नेकपा एमालेले देशको अभिभाकत्वको भूमिका निर्वाह गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । निर्वाचनको परिणामले नेकपा एमाले ठूलो दल भएपनि संख्यात्मक रुपमा कम रहेको उहाँले बताउनु भयो । सांसद विश्वकर्माले अबका दिनमा पार्टीलाई सुदृढिकरण गर्दै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले देशलाई समाजवादतर्फ उन्मुख गराउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेकोले विभिन्न राजनैतिक दलहरुसंग सहकार्य गरेर सरकार गठन गरेको बताउनु भयो ।
समिक्षा बैठकले मङ्सिरमा सम्पन्न आमनिर्वाचनमा पार्टीले अपेक्षाकृत जित हासिल गरेकोमा सिङ्गो पार्टी पङ्क्ति र मतदातामा धन्यवाद ज्ञापन गरेको छ । समिक्षा बैठकमा पार्टीका पोलिट व्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रिय सदस्य शिवराज सुवेदी, केन्द्रिय सल्लाहकार सदस्य डोलराज चापागाई, डिल्लीराम पन्थ, बुद्धिसागर भट्टराई, दयाराम बस्याल, प्रदेश कमिटी सदस्य हिरा केवट, धु्रवप्रसाद खरेल, सञ्जय गुप्ता, धनीश्वरी चौधरी, प्रदेश सल्लाहकार ओमप्रकाश न्यौपाने, जिल्ला सचिव यज्ञप्रसाद गैरे, रोहिणी गाउँपालिकाका अध्यक्ष सुनिल कौशल, ओमसतिया गाउँपालिकाका अध्यक्ष ईन्द्र गुरुङ्ग, देवदह नगर कमिटीका अध्यक्ष हिरा थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
बैठकमा नेकपा एमाले क्षेत्र नम्बर १ प्रदेश संयोजक प्रजापति सापकोटा, सुरेन्द्र श्रीले प्रदेश क्षेत्रीय समिक्षाको बारेमा प्रकाश पार्नु भएको थियो । क्षेत्रीय कमिटीका संयोजक बेद गिरीको स्वागत र सचिव युवराज न्यौपानेको संचालनमा बैठक सम्पन्न भएको थियो ।