Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

सामुदायिक वनलाई आयमुलक क्षेत्रसंग जोड्न सके विकास सम्भव छ : सांसद विश्वकर्मा 

3 weeks ago
सामुदायिक-वनलाई-आयमुलक-क्षेत्रसंग-जोड्न-सके-विकास-सम्भव-छ-:-सांसद-विश्वकर्मा-

पौष २९ । सामुदायिक वनलाई आयमुलक क्षेत्रसंग जोड्न सकेमात्र आर्थिक विकास गर्न सकिने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाँले वनको संरक्षण, सम्वद्र्धनसंगै सामुदायिक वनलाई उत्पादनसंग जोड्न आवश्यक रहेको औल्याउनु भयो । 

बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदह–५ को ११ औं बार्षिक साधारण सभा तथा भवनको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । सांसद विश्वकर्माले बुद्ध सामुदायिक वनले निर्माण गरेको गौतम बुद्ध राष्ट्रिय उद्यानले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग गरेको बताउनु भयो । 

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका सांसद विश्वकर्माले उद्यानको विकासको लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले आमउपभोक्ताहरुलाई उद्यमी बनाउने गरी सामुदायिक वनहरुले योजना निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नागरिकको जीवनस्तर उकास्ने गरी सरकारले काम गर्नेमा जोड दिनु भयो । उहाले संघीय सरकारले आकार लिएसंगै विकास निर्माणले फड्को मार्ने बताउदै सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्ने गरी अहिलेको सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह सब डिभिजन वन कार्यालयका प्रमुख चन्द्रबहादुर रानाभाट, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, समुहका पुर्वअध्यक्ष यमलाल तिवारी, समाजसेवी गंगाराम विक लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कार्यक्रममा अध्यक्ष रानाले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रेशमबहादुर गुरुङ्गले आर्थिक प्रतिवेदन, सचिव राधिकाकुमारी अर्यालले सचिवको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा युग ज्योति माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीसंगैै न्यानो कपडा वितरण गरिएको थियो । यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय उद्यानमा टिकट काउन्टर निर्माण गरिदिए बापत पाल्पा सिमेन्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा समुहका जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । 

समुहका उपाध्यक्ष थमनसिंह गुरुङ्गको स्वागत र लेखा संयोजक सन्तोष भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
 

Recent News