माघ २ । सातौँ देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ । राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण भन्ने मूल नाराका साथ यही माघ २६ देखि फागुन १० गतेसम्म संचालन हुने महोत्सवको तयारीमा आयोजक संस्था उद्योग व्यापार संघ देवदहको टीम जुटेको हो ।
महोत्सवको तयारी तिब्रताका साथ अघि बढाईएको उद्योग व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताउनु भयो । विभिन्न ३३ वटा उपसमिति महोत्सव भव्य रुपमा सफल पार्न काममा जुटेको उल्लेख गर्दै अध्यक्ष ढकालले स्थानिय उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि देवदहको गौरवको रूपमा महोत्सब आयोजना गरिएको बताउनु भयो । कोरोना महामारी र त्यस यताको वित्तिय तरलताले संकटमा रहेको व्यवसायलाई चलायमान गराउनको लागि पनि देवदह महोत्सव महत्वपूर्ण हुने उहाँको भनाई छ ।
देवदह क्षेत्रमा रहेका ऐतिहासिक पाकरी वृक्ष, भवानीपुर, कन्यामाई, देवदह क्षेत्र, खयर डाँडा, माथागढी, रोहिणी नदी, गौतमबुद्ध राष्ट्रिय उद्यान काष्ठ कला, प्रस्तर कला, देवदह ताल, सातपत्रे सिमसार क्षेत्र तथा अन्य महत्वपूर्ण पर्यटकिय स्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै देवदह नगरलाई ऐतिहासिक, धार्मिक एवम् पर्यटकिय स्थलको रुपमा विकास गर्ने मुख्य उद्धेश्य सहित देवदहमा मेला संचालन गर्न सुरु गरिएको र सोहि अनुसार सातौँ महोत्सवको तयारीमा जुटेको उद्योग व्यापार संघ देवदहका संस्थापक अध्यक्ष गोविन्द ठडराईले बताउनु भयो ।
मेलामा २ सय स्टल रहने बताउंदै स्टल दर्ता उपसमिति संयोजक अमृत फुल्लेल क्षेत्रीले अहिले स्टल दर्ताको काम अघि बढिरहेको बताउनु भयो ।
मेलामा स्थानीय कृषि उत्पादनको प्रदर्शनका लागि निशुल्क स्टल दर्ता गरिने उहाँले बताउनु भएको छ । मेलामा नृत्य तथा गायन प्रतियोगिता, स्थानिय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति तथा भलिवल प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ ।