माघ ६ । नेपाल खेलकुद महासंघ बुटवल उप महानगर कमिटीको आयोजनामा भएको प्रथम बटौली ५ हजार मिटर अन्तर माबि स्तरिय दौड प्रतियोगिता २०७९ को छात्र र छात्रातर्फ दुवैमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् ।
छात्रतर्फ कालिका मानवज्ञान विद्यालयका कक्षा ११ मा अध्ययनरत लेख बहादुर झेडी प्रथम भए भने छात्रा तर्फ पनि कक्षा ११ मा अध्ययनरत रक्षा थापा श्रीस प्रथम भईन । त्यसैगरी छात्रतर्फ गार्गी एकेडेमीका समिर रुचाल द्धितीय र नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका दिपक वि.क. तृतिय भए । छात्रातर्फ भने नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका ललिता पाण्डे द्धितीय र दिप बोडिङ स्कुलकी पुष्पा बुढामगर तृतिय भईन ।
बुटवलको योगिकुटीबाट सुरु भएको दौड प्रतियोगिता मिलनचोक हुँदै पुन सोही स्थानमा आएर पुरा भएको थियो । विजयी विद्यार्थीहरुलाई नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटीका अध्यक्ष त्रिभुवन पाण्डे, कार्यक्रम संयोजक प्रवेश आचार्य र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवम् बुटवल उपमहानगर ईन्चार्ज गोपाल रानाले नगद सहित सम्मान गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रानाले यस्ता खेल प्रतियोगिताले खेलाडीमा भएको क्षमता निखारिनुका साथै खेलाडीहरुको आत्मबल वृद्धी हुने बताउनुभयो ।