Devdaha Tv | स्थानीय
माघ २१ | 2023 Feb 04
Flash News

देवदह ५ को सार्वजनिक सुनवाई  तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

2 weeks ago
देवदह-५-को-सार्वजनिक-सुनवाई-तथा-अर्धवार्षिक-समिक्षा-कार्यक्रम-सम्पन्न-

माघ ६ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ को सार्वजनिक सुनवाई  तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सेवा प्रवाह, कार्यक्रम तथा आगामी योजनाबारे वडा कार्यालयले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। यससंगै देवदह नगरपालिकाका १२ वटा वडामध्य सार्वजनिक सुनुवाई सम्पन्न गर्ने देवदह ५ पहिलो वडा बनेको छ।   

देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्समेतको उपस्थितिमा आयोजित कार्यक्रममा वडाअध्यक्ष गणेश डुम्रेले वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गर्नु भएको थियो। जसअनुसार वडा कार्यालय अन्तर्गतका ९० प्रतिशत योजना सम्झौता भईसकेको तथा अन्य योजना सम्झौता हुने क्रममा रहेको जनाईएको छ। 

वडा अध्यक्ष  डुम्रेका अनुसार कार्यालयले सम्पन्न गरेका कार्यक्रम अन्तर्गत कृषि तथा पशु सेवातर्फ एसियाली विकास बैंकको सहयोगमा २० जनालाई जयन टेक्निकल कलेजमा पशु सहायक तालिम दिईएको, ५ दिने कृषि अवलोकन कार्यक्रम लगायत पशुसेवा कार्यालयबाट हुने सम्पूर्ण नियमित सेवा वडा कार्यालयले दिएको छ ।  त्यसैगरि महिला बालबालिका र जेष्ठ नागरिकतर्फ ८६ जनालाई नेतृत्व विकासको तालिम, ७ वटा टोलमा बाल क्लब र बालसंजाल गठन तथा ७ जना अशक्त महानुभावलाई ह्विल चेयर वितरण गरिएको उल्लेख छ। शिक्षातर्फ अभिभावकविहिन र अति विपन्न बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्न तथ्यांक संकलन गरि नगरपालिकामा पेश गरिएको लगायत अन्य विभिन्न शिर्षकमा सम्पन्न भएका कार्यक्रमको विवरण पेश गरिएको थियो। 

वडा कार्यालयले १५ लाख ३१ हजार ८ सय ६९ रुपैंया राजस्व संकलन गरेको तथा वडा कार्यालयबाट विभिन्न शिर्षकमा १ लाख २७ हजार खर्च भएको विवरण समेत वडा कार्यालयले सार्वजनिक गरेको छ। 

सो अवसरमा कार्यक्रममा सहभागीहरूले आफुलाई लागेका जिज्ञासा तथा सुझाब वडाध्यक्ष र वडा अन्तर्गतका कार्यालयका प्रतिनिधिहरू समक्ष राखेका थिए।  जसको जवाफ सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिले दिएका थिए। 

वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा सार्वजनिक सुनुवाईसंगै बालमैत्री वडा संकल्प तथा वडाको रणनीतिक योजना निर्माण समिति समेत गठन गरिएको छ।  

देवदह प्रेस क्लबको सहजीकरणमा सम्पन्न कार्यक्रमको संचालन क्लबका उपाध्यक्ष सुशिल सापकोटाले गर्नु भएको थियो ।

Recent News