माघ १७ । रुपन्देहीको देवदहमा विद्यार्थीहरुसंग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाका जनप्रतिनिधि र सगरमाथा आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख धु्रवप्रसाद खरेलले देवदहलाई शिक्षाको हबको रुपमा विकास गर्ने गरी नगरपालिका अगाडि बढिरहेको बताउनु भयो । उहाँले लुम्बिनी विकास कोषको सहकार्यमा देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् गरी देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी काम गरिरहेको दाबी गर्नु भयो । नगर प्रमुख खरेलले देवदह नगरपालिकाले अहिलेसम्म ऐतिहासिक स्थलहरुको संरक्षण मात्र गरेको बताउँदै अबका दिनमा गुरुयोजना अनुसार कामलाइ तिव्रता दिने गरी योजना निर्माण गरिएको बताउनु भयो । उहाँले सरनवारी हुदै मााथागढीसम्म सिढि मार्गको काम भईरहेको जानकारी दिनु भयो । प्रमुख खरेलले पर्यटनको माध्यमबाट नगरबासीको आर्थिक विकास गर्ने, नागरिकलाई स्वरोगार बनाउने गरी नगरपालिका अगाडि बढेको बताउनु भयो । उहाँले एडिबिको सहकार्यमा देवदहको विकास निर्माणको काम अगाडि बढाएको बताउँदै नगरको भित्री सडकमा ईन्टर ब्लक लगाउने बताउनु भयो । खरेलले देवदहलाई स्वास्थ्य बिमामुक्त नगरपालिका बनाउने गरी देवदह नगर अस्पताल संचालन गरेको दाबी गर्नु भयो । उहाँले देवदह नगर अस्पतालबाट आगामी फागुन १ गते देखि स्वास्थ्य विमाको प्रथम विन्दुको रुपमा सेवा प्रवाह गर्ने गरी स्वास्थ्य मन्त्रालय र बिमा कम्पनीसंग सम्झौता गरिएको बताउनु भयो । उहाँले स्वास्थ्य बिमा गर्न नसक्ने अति विपन्न बर्गलाई नगरपालिकाले नै स्वास्थ्य बिमा गरिदिने गरी काम गरिरहेको उल्लेख गर्नु भयो ।
सोही अवसरमा बोल्दै उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले कानुनी अड्चनका कारण चाहेर पनि संस्थागत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्न नसकिएको बताउनु भयो । उहाँले विगतका बर्षमा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सेनेटरी प्याडको व्यवस्थापन गरेपनि बरुजुका कारण समस्या भएको बताउनु भयो । उपप्रमुख गुरुङ्गले महिलाहरुको सशसक्तिकरणको लागि नगरपालिकाले विभिन्न योजनाहरु अगाडि सारेको दावी गर्नु भयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले युवाहरुलाई बैदेशिक पलायन हुनबाट रोक्नको लागि सिपमूलक कार्यक्रम अगाडि सारेको बताउनु भयो । उहाँले देवदह नगरपालिकालाई आगामी २०८१ भित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी वडा÷वडामा कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।
नगर शिक्षा अधिकारी टिकाराम शर्माले सामुदायिक र संस्थागत विद्यालयलाई नगरपालिकाले कुनै विभेद नगरेको दाबी गर्नु भयो । उहाँले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरुलाई नगरपालिकाले तालिम प्रदान गर्दै आईरहेको बताउनु भयो । शर्माले शिक्षा ऐनका कारण संस्थागत विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न नसकिएको बताउदै प्राविधिक शिक्षाको लागि पहल भईरहेको बताउनु भयो ।
कार्यक्रममा विद्यार्थीहरुले जनप्रतिनिधिहरुलाई विभिन्न प्रश्नहरु सोधेका थिए । सगरमाथा आवासीय माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षता, शिक्षक भिमा गुरुङ्गको संचालनमा भएको कार्यक्रममा शिक्षक दिपेशविक्रम मल्ल, दामोदर सापकोटा लगायतको सहभागिता रहेको थियो ।