माघ १७ । देवदह महोत्सवमा निशुल्क मधुमेह र दन्त परिक्षण हुने भएको छ । मंगलबार बसेको सातौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७९ को प्राथमिक उपचार तथा स्वास्थ्य समन्वय उपसमितिको बैठकले निशुल्क मधुमेह र दन्त परिक्षणसंगै रक्तदान समेत गर्ने निर्णय गरेको हो ।
उपसमितिका संयोजक जयकिशन अधिकारीका अनुसार महोत्सव अवधीभर विजय डेन्टलले निशुल्क दन्त परिक्षण गर्नेछ भने देवदहमा क्रियाशील लायन्स क्लबहरूको आपसी समन्वयमा मधुमेह परिक्षण गरिने छ । त्यसैगरी महोत्सव अवधि भरमा एक पटक रक्तदान गर्ने निर्णय समेत भएको संयोजक अधिकारीले जानकारी दिनु भयो ।
बैठकले प्राथमिक उपचार तथा स्वास्थ्य समन्वय उपसमितिलई पूर्णता दिएको छ । जस अनुसार उपसमितिको सह–संयोजकमा सुशिला आले, सरोज न्यौपाने, डा. कृष्ण गैरे र डा. विजय अमगाई रहेका छन् । आयोजक समितिले देवदहमा क्रियाशील महिला संघ संगठन, आमा समूह र स्वयम्सेविकासंग छलफल गरेको छ ।
मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारीबारे जानकारी दिनुका साथै आवश्यक सुझाव संकलन गर्ने क्रममा शुक्रबार मेलास्थल देवदह मण्डपमा छलफल सम्पन्न गरेको हो । महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा गणेश क्षेत्री, सागर पोखरेल सुमित्रा राना, विष्णु प्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।