फागुन १७ । देवदहबाट नमुना विद्यालयको रूपमा प्रस्तावित केरवानी माध्यमिक विद्यालयमा देवदह नगर प्रमुख धुर्व प्रसाद खरेल लगायतको टोलीले आकस्मिक अनुगमन गरेको छ । बुधबार बिहान ९ः३० बजे विद्यालयको गेटमा पुग्नु भएका नगर प्रमुख खरेलले झन्डै ९० मिनेट विद्यालय र विद्यालयमा हुने गतिविधीहरूको निरीक्षण गर्नु भएको थियो ।
विद्यालयको आकस्मिक अनुगमनपछि शिक्षकहरूलाई निर्देशन दिंदै प्रमुख खरेलले विद्यालयमा देखिएका गतिविधिसंग आफु सन्तुष्ट हुन नसकेको बताउनु भयो। सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरूमा ज्ञानको कमि नरहेको उल्लेख गर्दै प्रमुख खरेलले शिक्षकलाई ज्ञानको प्रयोग गर्न सुझाउनु भएको थियो।
समयमा विद्यालय नआउने, पुरा अवधी विद्यालयमा नबस्ने, शिक्षक पोशाक नलगाउने, शिक्षकहरू ग्रुप बनाएर गफ गरेर बस्ने र आफ्नो विषयमा राम्रो नजिता दिन नसक्ने शिक्षकलाई कारबही गरिने उल्लेख गर्दै प्रमुख खरेलले अब नगरपालिकाले विद्यालयका प्रधानाध्यापकसंग र प्रधानाध्यापकले विषय शिक्षकसंग सम्झौता गर्ने र सम्झौता अनुसारको नजिता प्राप्त नभए सम्झौता पुरा नगर्ने शिक्षक र प्रधानाध्यापकलाई आवश्यक कारबही अगाडी बढाईने धारणा व्यक्त गर्नु भयो ।
शिक्षकले इमान्दार प्रयास गर्ने हो भने सामुदायिक विद्यालयको नतिजा अन्य विद्यालयको भन्दा उत्कृष्ट हुनसक्ने प्रमुख खरेलको भनाई छ।
त्यसैगरि देवदह नगरपालिका प्रवक्ता तथा विद्यालय अवस्थित वडा देवदह–५ का अध्यक्ष गणेश डुम्रेले देवदहको एकमात्र कृषि प्राविधिक पढाई हुने केरवानी माविले प्रयाप्त सम्भावना हुँदाहुदै पनि अपेक्षित काम गर्न नसकेको गुनासो गर्नु भयो। माछा पालन, केरा खेती सबैको अनुगमन गर्दा झाडी फाड्ने र खेति गरिंदै गरेको क्षेत्रलाई सोहि अनुसार विकास गर्नुपर्ने सामान्य काम समेत नगरिएको भन्दै प्रवक्ता डुम्रेले दुःख व्यक्त गर्नु भयो ।
केहि शिक्षक १० बजेपछि मात्रै विद्यालयमा उपस्थित भएको, विद्यार्थीले बिहानी प्रार्थना गर्दैगर्दा शिक्षकहरू आफ्नो कक्षाका विद्यार्थी अगाडि उभिनुपर्नेमा ग्रुप बनाएर गफ गरेर बसेको, शिक्षकले विद्यालय पोशाक नलगाएको लगायतका विषयमा समेत आफुले कमजोरी देखेको उल्लेख गर्दै प्रवक्ता डुम्रेले विद्यार्थीको प्रार्थना कस्तो हुनुपर्छ भन्ने अन्य विद्यालयको हेरेर समेत सिक्न र सोहि अनुसार गर्न शिक्षकलाई निर्देशन दिनु भयो।
विद्यालयको शैक्षिक अनुशासनमा नबस्ने र राम्रो नतिजा दिन नसक्ने शिक्षककाई सोहि विद्यालयमा राखिरहन नगरपालिका बाध्य नहुने उल्लेख गर्दै प्रवक्ता डुम्रेले शिक्षकहरूलाई आफ्नो पेशाको मर्यादा कायम राख्न र विद्यार्थीको भविष्यप्रति जिम्मेवार हुन आग्रह गर्नु भएको थियो।
अनुगमन टोलीमा सहभागी विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले शिक्षक पोशाक नलगाई विद्यालय आउने शिक्षकलाई लिखित स्पष्टिकरण दिन निर्देशन दिनु भएको छ।
अनुगमनमा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुशिला भट्टराई, व्यवस्थापन समिति सदस्य सुष्मा रिजाल, विरेन्द्र पाण्डे लगायतको समेत उपस्थिति रहेको थियो।