फागुन २५ । आज राष्ट्रपति निर्वाचन सम्पन्न भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको निर्वाचनमा कुल कुल ८३१ मत खसेको छ । मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । त्यस्तै प्रदेशतर्फ ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४ बजेदेखि नै मतगणना थालिएको छ । मतगणनापछि बिहीबार नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनु भएका पौडेललाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको समर्थन रहेको छ । त्यस्तैगरी सभामुख नेम्वाङलाई एमालेको साथ रहेको छ ।