Devdaha Tv | राजनीति
चैत्र १८ | 2023 Apr 01
Flash News

अर्थतन्त्र सजिलो अवस्थामा छैन् : प्रधानमन्त्री दाहाल 

2 weeks ago
अर्थतन्त्र-सजिलो-अवस्थामा-छैन्-:-प्रधानमन्त्री-दाहाल-

फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सजिलो अवस्थामा नरहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारणसभामा बोल्दै दाहालले यस्तो बताउनु भएको हो । दाहालले अवस्था सजिलो नभएपनि आत्तिहाल्नुपर्ने परिस्थिति नभएको बताउनु भयो । 

दाहालले छिमेकका केही मुलुकहरू वैदेशिक मुद्राको घट्दो सञ्चितिबाट आर्थिक रूपले कठिन अवस्थामा परेको बेला नेपालसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेको उल्लेख गर्नु भयो । बाह्य क्षेत्र सन्तुलनमा राख्नका निम्ति विगतमा कसिलो मौद्रिक नीति जरूरी रहेको उल्लेख गर्दै दाहालले आर्थिक गतिविधिलाई कसरी चलायमान बनाउने, अर्थतन्त्रका सूचकहरूमा कसरी सुधार ल्याउने भन्नेतर्फ नै सरकारको ध्यान गएको बताउनु भयो । उहाँले अनावश्यक खालका चालू प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नु भयो । उहाँले सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरूका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको बताउनु भयो ।
उहाँले ब्याजदरलाई एकल बिन्दुमा सीमित राख्ने तरिकाबारे नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशन समेत दिइसकेको बताउनु भयो । 

दाहालले निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले राजनीतिले आफ्नो लय समातिसकेको भन्दै सरकारको सम्पूर्ण ध्यान सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न युद्धस्तरमा काम गर्नतर्फ जाने उल्लेख गर्नु भयो । 

दाहालले विकास निर्माणका काम निरन्तर अगाडि बढेमा उत्पादन र रोजगारीका क्षेत्रमा पनि सकारात्मक असर पर्न गई पूरै अर्थतन्त्र नै चलायमान बनाउन योगदान पुग्ने बताउनु भयो । 
उहाँले देशको समृद्धि र विकाससम्बन्धी निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति सरकारको ध्यान गएको बताउनु भयो ।