बन्दना काफ्ले । जब म ५/६ बर्षकी थिएँ तब मलाइ मेरो आमाले कहिल्यै अर्काको घरमा खेल्न जान दिनुभएन । यदि म लुकेर खेल्न गई हाले पनि कराउँदै लिन पुगीहाल्नुहुन्थ्यो । सोच्थेँ मेरो आमाले मलाई किन खेल्न नदिएको होला ? कति छुच्चि हुनुहुन्छ मेरो आमा जहिले पनि किन घरमा मात्रै बस भन्नु हुन्छ ?
जब म ९/१० बर्षकी भएँ सबै जना मलाइ घरमा छोडेर खेत बारीमा जानुहुन्थ्यो । खेलौना खानेकुराहरु दिएर कतै नजानु भनेर फकाउनु हुन्थ्यो । तर चञ्चले मन न हो साथीसगँ खेल्न जान मन लाग्थ्यो, भाग्न खोज्थँे तर आमालाई सम्झन्थेँ अनि फेरि खेलौनाहरुसँग खेल्दै बस्थँे । बाबाले प्रहरी सेवामामा काम हुनुहुन्थ्यो । घरमा धेरै बस्नु हुदैन थियो । ३/४ महिनामा एकचोटि मात्र घरमा आउनु हुन्थ्यो त्यहि पनि ३/४ दिनको लागि मात्रै आउनु हुन्थ्यो । कहिले काहिँ त राति आएर भोलि पल्ट बिहान उज्यालो नहुदैँ जागिरमा गई हाल्नु हुन्थ्यो । त्यहि भएर पनि होला म बाबासगँ भन्दा आमासँग धेरै नजिक थिएँ । मलाई जहाँ सम्म लाग्छ हरेक घरमा छोरीहरु आफ्नो बाबासगँ भन्दा पनि आमासँग नै बढि नजिक हुन्छन् । त्यहि भएर होला छोरी बिग्री अर्थात छोरीले केहि गल्ति गरि भने आमालाई नै बढि दोष आउने गर्छ । बाबाले घरमा समय दिन नभयाउने भएरै होला आमाले मलाई र भाईलाई बाबा, आमा दुबैको माया दिनुहुन्थ्यो, ख्याल गर्नु हुन्थ्यो । आमाले मलाई र भाईलाई हरेक दिन सुत्नु भन्दा अघि अन्जान मान्छे घरमा आयो भने घरको ढोका नखोल्नु, कोहि अन्जान मान्छेले दिएको खानेकुरा नखानु आदि इत्यादि कुराहरु भन्दै सम्झाउनु हुन्थ्यो । त्यहि भएर आमा खेतबारीमा जादाँ, घरमा नहुदाँ म दिउँसो एक्लै हुन्थेँ । कोहि अन्जान मान्छे घर तिर आउदै गरेको देखे आमाले भने जस्तै गरेर ढोका भित्रबाट लगाएर लुकेर बस्थेँ । कहिले काहीँ त घरमा आमा नभएको मौका छोपेर दिनभर गाउँ डुल्थे । आमाले थाहा नपाइ डुल्न पाउँदा बडो खुसी लाग्थ्यो संसार जिते जस्तो लाग्थ्यो । अझ भनौँ बर्षौ देखि पिजँडामा थुनेर राखेको चरी भागेर आकाशमा खुल्ला पङ्ख फिजाएर उडे जस्तै आन्नद लाग्थ्यो ।
जब म १३/१४ बर्षकी भए तब गाउँ तिर बिहे, भोज, मेला साथिको बर्थडे पार्टि हुदाँ मलाई कहिल्यै आमाले एक्लै जान नै दिनु भएन । मलाई सँधै सगैँ लानुहुन्थ्यो । आफ्नै गाउँका मान्छेहरुसगँ बोल्दा तलाई किन अरु सङ धेरै बोलि राख्नु पर्यो ? भन्दै कराउनु हुन्थ्यो । म कहिले काहिँ आफैसगँ प्रश्न गर्थेँ मेरो आमालाई किन म प्रति अलिकति पनि भरोसा छैन होला ? म भन्दा एक बर्ष मात्र सानो मेरो भाइलाई सबैसङ्ग बोल्न, खेल्न स्वतन्त्रता थियो । उसलाइ साँझ ७ बजे सम्म घर बाहिर खेल्न छुट थियो । तर मलाइ ५ बजे देखि उता आँगन नाघ्न पनि मनाही थियो । म जहिले सोच्थेँ आमाले भाइ र म मा किन यति धेरै विभेद गर्नु भएको होला ? हिँडेर १ डेढ घन्टामा पुगिने ठुलीआमाको घर कहिल्यै एक्लै जान दिनु भएन । बाटोमा एक्लै जाँदा मेरो छोरीलाई बौलाहा आएर लिएर जान्छ, बाटोमा त बाघ बस्छ, यस्तै यस्तै अनेक बाहाना गरेर फकाउनु हुन्थ्यो र एक्लै कहिल्यै पनि जान दिनुहुन्थेन । घरतिरको काम सकिए पछि बल्ल आँफै लिएर जानु हुन्थ्यो, कि त कहिलेकाहिँ बाबा आउँदा बाबासगँ पठाउनुहुन्थ्यो । अब त म ठुली भएँ त त्यति जाबो त म एक्लै हिडेर जान सक्दिन र ? भन्दै सोच्थेँ । अझै नि आमाको अगाडि कसैको फोन आयो भने, को हो ? किन फोन गरेको ? यता उति सोध्नु हुन्छ । म सोच्थेँ मेरो आमाले किन यती धेरै अधिकार जमाउनु भएको होला म मा भन्दै ।
म अहिले १९ बर्षकी भए धेरै कुरा बुझन्े भएँ । अनि बल्ल मलाई महसुस भयो आमा होइन, म गलत रहेँछु । आमाले मलाइ भिडभाड, मेला बजार जान सँधै रोक्नु हुन्थ्यो, तर स्कुल जान कहिल्यै रोक्नु भएन । त्यसैले अहिले बुझ्दैछु मेरो आमाले म र भाईबिचमा बिभेद गर्नु भएको होइन, उहाँले बलात्कार छोरीलाई गर्छन छोरालाई गर्दैनन भन्ने कुरा बुझ्नु भएको रहेछ । आँफु अनपढ भए पनि आमाले दुनिँया पढिसक्नु भएको रहेछ । मैले आज बल्ल बुझदै छु उहाँले म माथि आफ्नो अधिकार जमाउन खोज्नु भएको होइन मेरो सुरक्षा गर्नु भएको रहेछ । म अरुसङ्ग बोलेको मन नपराएको होइन, अरुले मलाई हेर्ने नजर चाहिँ मन नपराउनु भएको रहेछ । उहाँले मलाइ भरोसा नगर्नु भएको होइन, उहाँलाई दुनिँयामाथि भरोसा रहेनछ ।
अझ अहिले त महिला नै राष्ट्रपति बन्दा पनि, देशका विभिन्न उच्च पदमा महिलाकै नेत्रृत्व हुँदा पनि पत्र–पत्रिका, रेडियो, टेलिभिजन हरेकको हेडलाइन नै बलत्कारको हुन्छ । निकै गम्भीर अनि निकृष्ट प्रकृतिका बलत्कारका घट्नाहरुको समेत निष्पक्ष छानबिन हुन नसकेर आन्दोलन गर्नुपर्दछ, र पनि सत्यतथ्य बाहिर आउन सक्दैन । समाचारहरु सुनेर नै होला आमाले मलाई सानै देखि त्यति धेरै ख्याल राख्दै आउनु भएको । अहिले त जागिर गर्ने सम्म भईसकेँ, धेरै बुझ्ने भईसकेँ त्यहि पनि आमाको मन न हो घर कति बेला आउछेस, कहाँ छेस्, के खाईस, को सगँ छेस् भन्दै फोन गरिरहनु हुन्छ । यसरी आमाको माया देख्दा मलाई हरेक पुरुषसँग एउटा मात्रै अनुरोध गर्न मन लाग्छ, आफ्नो बहिनिको लागि बाघ बन्न सक्छौ भने अरुको बहिनिको लागि कुकुर नबनि देऊ । म कहिलेकाहिँ सोध्छु आमालाई किन धेरै चिन्ता लिनुहुन्छ मेरो भन्दै, अनि उहाँले भन्नुहुन्छ “जब सम्म मेरी छोरी मेरो छाँयामा हुन्छे तब सम्म उसलाई कहिल्यै कसैले छुने हिम्मत गर्दैनन्, तर जब छोरी घरबाट बाहिर जान्छे मलाई सँधै एउटै डरले सताउँछ कतै मेरो छोरीलाई कसैले केहि त गरेन ??“