Devdaha Tv | बिचार/ब्लग
चैत्र १८ | 2023 Apr 01
Flash News

पुरुषवादी मानसिकतामा उत्पादित शब्दले खेदिएका माननिय ओलीहरु 

1 year ago
पुरुषवादी-मानसिकतामा-उत्पादित-शब्दले-खेदिएका-माननिय-ओलीहरु-

लुम्बिनी प्रदेश सभाकी सदस्य विमला ओलीले एक पुरुष पात्रलाई चुम्बन गरेको तस्वीर भाइरल भयो । तस्वीरमा उनले एक पुरुषको गालमा चुम्बन गरेको देखिन्छ । उनले पछि बिज्ञप्ती निकालेर तस्वीर जोडेर बनाइएको र आफ्नो राजनैतिक रुपमा हत्या गर्न खोजिएको आरोप लगाइन । नेकपाबाट निर्वाचन जितेकी ओलीले सर्वोच्चको आदेश बमोजिम दल रोज्दा माओवादी रोजिन । उनकै भनाई सापटी लिएर भन्दा माओवादी रोजेको रिस फेर्न साइबार स्यालहरुले उनको तस्वीरको दुरुपयोग गरे । यसको सत्य तथ्य के हो त्यो अनुसन्धानको बिषय होला तर एउटा एकल महिलालाई त्यो पनि जननिर्वातित माननियलाई यौनिकतालाई बिषय बनाएर कसरी लखेट्छ भन्ने कुरा वलीको तस्वीरले प्रस्ट पारेको छ । उनलाई केही आफुलाई पत्रकार बताउने समुहले नियोजित रुपमा लखेट्न थाल्यो । यहाँ सम्म की उनको पतीलाई उनैले हत्या गरेको आरोप समेत लगाउन सम्म पनि भ्याए । मानिसहरु चन्द्रमामा घर बनाउने बिषयमा सोचिरहेका छन । नेपाली समाज एउटी महिलाको फोटोमा अतिरञ्जना गर्दै रमाइरहेको छ । अहिलेको अवस्थामा चुम्बन ज्यादै सामान्य बिषय हो माननिय भइसकेको मानिसले सामाजिक मर्यादालाई ख्याल गर्नु पर्ने थियो भन्ने एउटा बिषय होला तर यही बिषयलाई लिएर जन्मै देखिको बल निकालेर गाली गर्नु कति जाय बिषय हो । अश्लिल चलचित्र नहेरे सम्म ननिदाउने, परस्त्री र मदिरा संग गहिरो सम्बन्ध भएका पुरुष पात्रले विमला वलीलाई गाली गर्न सुहाउँछ ? लाज लाग्नु पर्ने होइन र एकल महिलाको व्यक्तिगत जीन्दगी छैन ? के उनको पुरुष साथी हुनु हुँदैन ? महिला तिम्रो यौन दासी बनिदिनु पर्ने हो ? यस्ता गम्भिर बिषयमा महिला अधिकारकर्मी भनिनेहरु किन बोल्दैनन ? हामीले निर्माण गर्न खोजेको समाज यस्तै हो ? हामीले सार्वजनिक मानिसहरुको पनि व्यक्तिगत जीवन हुन्छ भन्ने कुरा भुलिरहेका त छैनौँ ? उनले गरेका सार्वजनिक काममा आलोचना गर्नु पर्ने विभिन्न पाटाहरु होलान तर व्यक्तिगत जीवनको कुरा गर्ने हो भने उनि एकल महिला भएकै कारण पुरुष पात्रहरुको निशानामा परिन, यदी उनको ठाउँमा कुनै पुरुष पात्र हुन्थ्यो भने समाजको हेर्ने दृश्टिकोण यस्तै हुन्थ्यो त ? कदापि हुने थिएन । कुनै कारणवस श्रीमान भन्दा अगावै श्रीमतीको मृत्यु भयो भने श्रीमतीको मृत्यु भएको ४५ दिन नपुग्दै पुरुषहरुले नयाँ जीवन साथी खोज्न थाल्छन । नेपाली समाजमा एउटा भनाई निकै प्रचलित छ केटा मान्छेले ...........खाएको टपरी सुक्न नपाउँदै अर्की श्रीमती खोज्न थाल्छ । श्रीमानको मृत्यु पश्चात सन्तानको रेखदेखमा सिङ्गो जीवन विताउने महिलाहरुको ठुलो संख्या छ नेपाली समाजमा । स्वइच्छाले एकल जीवन विताउनु उसको व्यक्तिगत स्वतन्त्रताको बिषय होला तर उ सधैँ एक्लै बस्नु पर्छ सधैँ रोदन क्रन्दन गर्नु पर्छ भन्ने पनि त होइन होला नी ? महिला पात्रको पुरुष सहयात्री वा सहकर्मी हुँदैनन ? महिला पात्र कुनै पुरुष पात्र संग जोडिनै हुँदैन ? सदनमा बसेर महिला अधिकारको चर्को पक्षपोषण गर्ने महिला माननियहरु किन मौन छन यो बिषयमा ? महिला अधिकार माननियलाई लागु नहुने बिषय हो र ? महिला माननियलाई अपहरण गर्न अग्रभागमा देखिने माननियहरुलाई ज्यु हजुरी गर्ने महिला माननियले महिला मैत्री कानुन निर्माण गर्लान त ? प्रदेशबासीले के अपेक्षा गर्ने ? राजनैतिक दल रोज्ने व्यक्तिको अधिकारको बिषय हो । राजनैतिक बिषयमा बहस गर्न छाडेर एउटी महिलाको फोटोमा अतिरञ्जनामा रमाउने नेता र पत्रकारहरु संग नेपाली समाजको मार्ग निर्देशनको अपेक्षा राख्नु मरुभुमिमा हराभरा जंगलको अपेक्षा राख्नु उस्तै बिषय हो । जनताको जनमत लिएर माननिय भइसकेको मानिसको हालत त यस्तो छ आम महिलाको अवस्था कस्तो छ भन्ने कुरा यसैबाट अनुमान लगाउन सकिन्छ । महिला पात्रलाई मजाक बनाउन पाउँदा खुब मनोञ्जित महसुस गर्ने पुरुष चरित्रहरुले आफु पनि कसैको छोरा, कसैको दाजु, कसैको श्रीमान हो भनेर कहिले महसुस गर्ने ? आफ्नी आमा दिदी बहिनीलाई मजाकको पात्र बनायो भने के होला ? राजनैतिक बिषयमा असहमती हुनु स्वभाविक हो । फरक खाले आस्थाका राजनैतिक दल हुनु, फरक आस्था राख्ने मानिसहरु हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर राजनैतिक आस्था नमिलेको वा आफ्नो राजनैतिक आस्था अस्वीकार गरेकै भरमा व्यक्तिगत रुपमा लखेट्न थाल्नु कदापी राजनैतिक चरित्र होइन । पत्रकार र नेताले महिला माननियको यौनिकतालाई मजाक उडाउने, आम पुरुषले सर्वसाधारण महिलाको मजाक उडाउने स्तर अनुसारका पुरुषले महिलाको मजाक उडाउने हो भने नेपाली समाजको स्वरुप कस्तो बन्छ अब गम्भिर बन्नु पर्ने समय आयो । पुरुषबादी मानसिकतामा उत्पादित शब्दहरुले माननिय ओलीहरु कहिले सम्म खेदिनु पर्ने हो ? हामी सबै सम्बेदनशिल बनौँ श्रीमानको मृत्यु संगै महिलाको ईच्छाहरुले सति जानु आवश्यक छैन । आफ्नो स्वतन्त्रता प्रयोग गर्दै गर्दा अर्काको स्वतन्त्रताको सम्मान गरौँ ।