लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनमा तोडफोड गर्नेलाई पक्राउ गर्न प्रहरीले सहयोग नगरेको आरोप लागेको छ । घटना भएको सातादिन बित्दा समेत तोडफोड गर्ने व्यक्तिहरु पक्राउ नपर्नुले यस्तो आरोप लगाउनलाई बल पुगेको हो । माघ २३ गते भएको तोडफोडकै दिन अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालय, बुटवलमा किटानी जाहेरी दिएको थियो । उक्त जाहेरी सँगै तोडफोडको सिसिटिभि फुटेज समेत पेश गरेको अस्पतालको भनाई छ ।तर प्रहरीले किटानी जाहेरी अनुसार व्यक्तिहरुलाई पक्राउ गर्नुको सट्टा अस्पताल प्रशासनलाई जाहेरी फिर्ता लिन र मेलमिलापमा घटना साम्य पार्न दबाब दिने गरेको छ । प्रहरीले अस्पताल प्रशासनलाई दबाब दिएको पुष्टि प्रदेश ५ का सामाजिक विकास मन्त्रीले गरेका छन् । प्रहरीलाई बिभिन्न क्षेत्रबाट जाहेरी कार्यान्वयन नगर्न दबाब पुगेपछि प्रहरीले अस्पताल प्रशासनलाई दबाब दिने गरेको स्रोत बताउँछ । तर प्रहरी र अस्पताल प्रशासन भने यस आरोपको अस्वीकार गर्छन् । घटना घटेको स्थल प्रदेश ५ को राजधानी हुनु र नेपाल सरकारका सुरक्षा निकायका अंगहरुपनि नजिकै हुदासमेत पक्राउ नपर्नुले प्रहरीमाथि आरोप लाग्नु स्वभाविक नै भएको बुटवलवासी बताउँछन् । कुनै दुर्गम र अपरिचित व्यक्ति नभएको हुदा प्रहरीले यस बिषयमा लापरवाही गरेको उनीहरुको आरोप छ ।