लुम्बिनी प्रादेशिक अस्पताल परिषरका सटरमा पाँच बर्षको सम्झौता तीन महिनामै तोडेर डोजर लगाईएको छ । अस्पताल प्रशासनले सम्झौता तोडेर सटर खाली गराउनकालागि गत सोमबार साँझ ४८ घण्टे अल्टिमेटम दिएको थियो ।
अस्पताल प्रशासनले दिएको अल्टिमेटमको समयावधि भित्र व्यबसायीले सटर खाली नगरेपछि प्रशासनले प्रहरी लगाएर डोजर चलाएको हो ।
अस्पताल प्रशासनले २८ फागुन २०७५ मा निकालेको सार्वजनिक सूचनाअनुसार ६१ जना र २०७६ जेठ २८ गतेको सूचनाअनुसार १२ जना व्यवसायीले पाँच वर्षका लागि भाडा सम्झौता गरेका थिए ।
प्रदेश पाँच मन्त्रीपरिषदको बैठकले गत कात्तिक १८ गते अस्पतालका सटरहरु मंसिर मसान्तसम्म हटाउन र नहाटाए डोजर लगाएर हटाउने निर्णय गरेको थियो । पाँँच वर्षकालागि गरेको सम्झौता तीन महिनामै तोडेर सटर खाली गर्न भनेपछि व्यबसायीले न्याय माग्दै अदालत पुगेका थिए । तर जिल्ला अदालतले व्यबसायीको विपक्षमा फैसला गर्यो । पुनः व्यबसायी सोही मुद्धा लिएर सर्बोच्च अदालत पुगेका थिए ।
अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर २६ सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १ गते छलफलमा बोलाएको छ । मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काएको हो ।